• १९ असोज २०८१, शनिबार

सामाजिक सञ्जालमा चलचित्रका क्लिप नराख्ने विकास बोर्डको आग्रह

blog

सन्तोष सुवेदी
कास्की, असोज १९ गते । 
पछिल्लो समय मोबाइलबाट फिल्मका महत्त्वपूर्ण दृश्य खिचेर सामाजिक सञ्जालमा अपलोड गर्नेको सङ्ख्या बढेपछि चलचित्र विकास बोर्डले त्यस्तो नगर्न आग्रह गरेको छ । चलचित्र विकास बोर्डले एक सूचना जारी गर्दै प्रतिलिपि अधिकार उल्लङ्घन गर्नेलाई कानुनी कारबाहीको चेतावनी समेत दिएको छ ।

त्यस्ता दृश्य अपलोड गरेको पाइएमा प्रतिलिपि अधिकार ऐन २०५० र नियमावली २०६१ अनुसार त्यस्तो काममा प्रयोग गरिएको उपकरण जफत हुनुको साथै दण्ड, जरिवाना र क्षतिपूर्ति समेत गर्नुपर्ने तर्फ बोर्डले सचेत गराएको छ । फिल्म हलभित्र मोबाइल, क्यामेरा लगायत कुनै पनि किसिमका भिडियो खिच्ने सामग्रीको प्रयोग नगर्नु नगराउन समेत बोर्डले समस्त दर्शकलाई आग्रह गरेको छ ।

बोर्डले सूचनामा भनेको छ, ‘‘हाल नेपालमा प्रदर्शनरत नेपाली चलचित्रको मुख्य मुख्य अंशहरूको भिडियो सामाजिक सञ्जालभरि व्याप्त भइरहेको सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको छ । यसरी चलचित्रको मुख्य अंशहरूको अनधिकृत दुरुपयोगबाट चलचित्र निर्माताहरूका लगानी तथा यसमा सम्बद्ध सम्पूर्णको मिहेनत डुब्न जाने अवस्था रहने छ । अर्काको सिर्जना तथा सम्पत्तिको गैरकानुनी रूपमा विभिन्न डिजिटल माध्यममा अपलोड गर्नु कानुनी रूपमा दण्डनीय अपराध हो ।’’