• १९ असोज २०८१, शनिबार

जोखिम मोलेर यात्रा

blog

भाँचिएको र बार नभएको झोलुङ्गे पुल तर्दै विद्यार्थी ।

गुणबहादुर रोका

सुलीकोट, असोज १९ गते । लट्ठा भाँचिएको र बार नभएको झोलुङ्गे पुलबाट दैनिक ५० विद्यार्थी तथा सयौँ नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । गत शनिबार त्रिशूली नदीमा आएको बाढीले गोरखाको सहिद लखन गाउँपालिका–३, सिलिङटार र चितवनको इच्छाकामना–४ जोड्ने झोलुङ्गे पुलमा बाढीले क्षति पुर्‍याएपछि पुलको लट्ठा र दायाँबायाँको बारजाली नै बगाएर लगेपछि ज्यानको जोखिम मोलेर त्रिशूली नदी वारपार गर्नुपर्ने बाध्यता भएको छ । 

गोरखाका सहिद लखन गाउँपालिकाका ५० भन्दा बढी बालबालिका चितवनस्थित कुरिनटारको सर्वशान्ति मावि, प्रगति पाठशाला र ग्रिन फिल बोर्डिङ स्कुलमा अध्ययन गर्छन् । आफ्ना बालबालिकालाई विद्यालय लैजान र ल्याउन दैनिक अभिभावक अरू कामको परबाह नगरी पुलनजिकै चेरेससम्म आउजाउ गर्छन् । अहिले विद्यालयमा परीक्षा चलिरहेको छ । अभिभावक रामबहादुर श्रेष्ठले भन्नुभयो, “यदि विद्यालयमा पढाइ मात्र भएको भए जोखिम मोलेर विद्यालय पठाउन सकिँदैन तर परीक्षाका कारण पठाउन बाध्य छौँ ।”

अहिले लट्ठा भाँचिएको र बार नभएको पुलले सहिद लखन गाउँपालिकाका सयौँ नागरिकलाई चिन्तामा पारेको छ । पुलबाट आउजाउ गर्न समस्या आएपछि सहिद लखन गाउँपालिका–३, चुमीस्वाँराका दुई परिवार चितवनको कुरिनटारमा कोठा लिएर बस्न बाध्य भएको विद्यार्थीका अभिभावक मेखबहादुर गुरुङले जानकारी दिनुभयो । 

यस पुलको विकल्पमा लगभग एक घण्टाको दुरीमा रहेको ठेउवाटारको झोलुङ्गे पुल छ  तर एक घण्टाको बाटोमा पुगेर पनि त्यसपछि ताक्लुङको ठाडो खोला तर्न सक्ने अवस्था नभएकाले बाध्य भएर जोखिमपूर्ण यात्रा गर्नु परेको गुरुङले बताउनुभयो । अहिले सिलिङटारमा नौ वटा गाउँमा जाने मुख्य पुल भएकाले पनि पाँच सय घरधुरीले यही बाटो ओहोरदोहोर गर्ने गरेका छन् । पुलको लट्ठा भाचिँदा सबैभन्दा बढी विद्यालयमा पढ्ने विद्यार्थी मर्कामा परेको स्थानीयले बताएका छन् ।