• १८ असोज २०८१, शुक्रबार

सूचना प्रविधिमा आधारित सुशासन प्रणाली यही वर्षभित्र सुरु हुन्छ – सञ्चारमन्त्री गुरुङ

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ जावलाखेलस्थित नेपाल टेलिकममा रहेको इन्टिग्रेटेट नेटवर्क अपरेशन सेन्टरको अवलोकनको क्रममा । तस्बिर : केशब गुरुङ

ललितपुर,  असोज १८ गते ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधिमा आधारित सुशासन प्रणालीको कार्य यही वर्षदेखि सुरु हुने बताउनु भएको छ । 

शुक्रबार दिउँसो ललितपुरको जावलाखेलस्थित नेपाल टेलिकममा रहेको इन्टिग्रेटेट नेटवर्क अपरेशन सेन्टरको अवलोकन गर्नुहुँदै मन्त्री गुरुङले सो कुरा बताउनुभयो । अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा देखिएको नेटवर्कको समस्या एवम् समाधानका लागि भइरहेको प्रयासबारे उहाँले जानकारी लिनुभएको हो ।

मन्त्री गुरुङले भन्नुभयो, “अहिले समस्या सङ्कलनको ठाउँमा छु । धेरै ठाउँमा फोन आउँदैन, कभरेज छैन । कभरेज गर्नलाई टावर राख्नुपर्ने होला । कतिपय ठाउँमा थप्नुपर्ने होला, त्यो काम हामी गर्छौं ।”

उहाँले कतिपय ठाउँमा बोल्दा–बोल्दै आवाज काटिने जस्ता विभिन्न समस्या भएको उल्लेख गर्नुहुँदै गुणस्तरीय कभरेजका लागि जोड दिनुपर्ने बताउनुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, हाम्रो ठूलो योजना के छ भने एक्टिभ फोरजी कभरेज यो वर्षभित्र पुराउनुपर्छ । सम्भवतः फाइभजीको महानगरतिर ट्रायल गर्ने भन्ने छ । फाइभजी सुरु गर्नेमा नेपाल टेलिकम अगाडि हुन्छ ।”

उहाँले यो वर्षभित्र डिजिटल नेपालको महत्वपूर्ण पाटोको रुपमा रहेको सूचना प्रविधिमा आधारित सुशासन प्रणालीको काम सुरु गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “वडा कार्यालय, पालिका, प्रदेश सरकार नेपाल सरकार सबै अनलाइन बेस्ड गर्भनेन्समा जाने भनेका छौं । यो काम यो वर्ष थाल्छौं । डिजिटल नेपालको एउटा महत्वपूर्ण पाटो यो बनेको छ । यो सुशासन कायम गर्ने प्रमुख माध्यम भएकाले यसमा हामी अगाडि बढ्नेछौं ।”



नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडी (अर्याल) ले अविरल वर्षाका कारण बाधा पुगेका अधिकांश साइटहरु पुनः स्थापना भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार बाटो नै बगाएको र हेलिकप्टर समेत जान नसकेका कतिपय स्थानमा पुनः स्थापनाका लागि प्रयास भइरहेको छ । 

प्रबन्ध निर्देशक पहाडीले भन्नुभयो, “विपद्को बेलामा मात्र होइन, हरेक कुनै पनि साइट, इक्विपमेन्ट बन्द हुन्छ भने त्यसलाई सुचारु गर्ने हाम्रो काम हो । विद्युत् प्राधिकरणको ट्रान्सलाइनहरु ढल्यो । हाम्रो कतिपय अप्टिकल फाइबर चाहिँ विद्युत प्राधिकरणको पोलबाट गएको छ । त्यसले गर्दा फाइबर पनि ड्यामेज भएर सेवा डिस्टर्व भयो ।”

उहाँका अनुसार विगत पाँच वर्षदेखि देश लोडसेडिङमुक्त भएदेखि छ देखि आठ घण्टाको ब्याक्अप राख्ने गरिएको छ ।

उहाँले सञ्चारमन्त्री गुरुङको अवलोकन सन्दर्भमा भन्नुभयो, “मन्त्रीज्यु, सचिवज्यूबाट चाहिँ टेलिकमको नेटवर्क अपरेशन सेन्टरको भ्रमण गर्नुभएको हो । नेटवर्क अपरेशन सेन्टरमा टेलिकमको देशैभरमा रहेको जुन इन्फ्रास्टक्चरको इक्विपमेन्टहरु राख्छौं, तिनीहरु सबै देशैभर जति पनि छरिएर रहेका छन्, सेन्ट्रलाइज मनिटरिङ चाहिँ यहीँबाट हुन्छ ।”

उहाँका अनुसार बाढी, पहिरोबाट यस क्षेत्रमा के कति असर परिरहेको छ र समाधानका लागि कस्ता प्रयास भइरहेका छन् भन्ने सन्दर्भमा मन्त्री गुरुङको टोलीले जानकारी लिनुभएको हो । दूर सञ्चार प्राधिकरणले पनि नेटवर्क अपरेशन सेन्टरलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको उहाँको भनाइ छ । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।