• १८ असोज २०८१, शुक्रबार

तिनाउमा १५ हजार माछाका भुरा छाडिए

blog

तानसेन–९, अम्लिहानस्थित तिनाउ नदीमा माछाका भुरा छाडिँदै । तस्बिरः रेखीराम राना

रेखीराम राना

तानसेन, असोज १८ गते । तिनाउ नदीमा १५ हजार माछाका भुरा छाडिएका छन् । जलचरको संरक्षण गरी पारिस्थितिक प्रणालीलाई सन्तुलित बनाउन तिनाउ नदीको अम्लिहान र झुम्सा क्षेत्रमा राहु र नैनी जातका १५ हजार माछाका भुरा छाडिएका हुन् । 

माछाका भुरा छाड्ने कार्यक्रममा बोल्नुहुँदै राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापति ठाकुर गैरेले मानव अतिक्रमणमा परेर जलचर विनाश हुँदै गएको बताउनुभयो । तिनाउ नदीमा माछाका भुरा छाड्दा त्यसले पारिस्थितिक प्रणाली जोगाउन मद्दत गर्ने उहाँको भनाइ छ ।

तिनाउ नदी भनेको केवल बुटवल क्षेत्र मात्र नभ नदीको मुहान स्रोत माडी क्षेत्र पनि भएकाले माडी क्षेत्रका बासिन्दा र नदीमा रहने जीवजन्तुको प्रणालीलाई सहज बनाउने बताउनुभयो । 

नेपालमा तिनाउ नदीजस्ता खोलामा १२ प्रकारमा माछा पाइने र त्यसले नदीमा हुने जीवको सन्तुलन कायम गर्न सहयोग गरेको नेपाल कृषि अनुसन्धान परिषद् नार्कका प्रशासन प्रमुख नवीनप्रकाश पौडेलले बताउनुभयो । छाडिएका भुरा माछा तीन महिनापछि हुर्कने र त्यसले प्रजनन प्रक्रिया सुरु हुने उहाँले बताउनुभयो । 

पशु तथा मत्य अनुसन्धान निर्देशनालय, नेपाल कृषि अनुसन्धान परिषद् र मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवर्धन स्रोत केन्द्र भैरहवाको प्राविधिक सहयोगमा तिनाउ नदीको अम्लिहान र झुम्साबाट १५ हजार माछाका भुरा छाडिएको हो । नदीमा छाडिएको माछाको संरक्षणका लागि प्रहरी प्रशासन र नागरिकको महत्वपूर्ण भूमिका रहने पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताउनुभयो ।