• १८ असोज २०८१, शुक्रबार

चाडपर्व लक्षित ‘यात्रु सहायता कक्ष’

blog

यात्रु सहायता कक्षाको उद्घाटन गरिँदै ।

सुजल श्रेष्ठ

प्युठान, असोज १८ गते । चाडपर्वलाई लक्षित गरी जिल्लाका तीन स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानले यात्रुको सुरक्षा र सहजताका लागि यात्रु सहायता कक्ष स्थापना गरेको हो ।

यात्रु सहायता कक्षमा कुनै पनि यात्रुले समस्या भएमा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्यालले चाडपर्वको मौका छोपेर फर्जी टिकट बेच्ने, दोहोरो टिकट काट्ने लगायतका गतिविधि हुनसक्ने भएकाले त्यसलाई रोक्न कक्षले सहयोग पुग्ने बताउनुभयो ।

चाडपर्वको अवसरमा क्षमताभन्दा बढी यात्रु बोक्ने र बढी भाडा असुल्ने गुनासो आउने बताउँदै उहाँले यस्तो गुनासो नआउने गरेर काम गर्न यातायात व्यवसायीलाई आग्रह गर्नुभयो । अहिले जिल्लामा सरुमारानीको ढुङ्गेगढी, प्युठान नगरपालिकाको जुम्री र बाग्दुलामा गरि तीन स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।

घटस्थापनासँगै जिल्लामा दसैंका लागि आउने यात्रुहरु बढेका छन् । देशका विभिन्न ठाउँहरुको साथै भारतलगायत देशबाट दसैं मान्न सर्वसाधारण आउन थालेपछि यातायातमा भिड बढेको छ । भिडको समयमा चोरी, लुटपाटलगायतका अपराधिक गतिविधि हुनसक्ने भएकाले निगरानीका लागि प्रहरी परिचालन गरिने प्रहरीले जनाएको छ ।