• १८ असोज २०८१, शुक्रबार

दसैँमा बन्दीका मुद्दा र पक्राउ पुर्जीबारे सुनुवाइ हुने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १८ गते । दसैँ बिदाका समयमा पनि बन्दीप्रत्यक्षीकरण रिटसहितका अन्य जरुरी निवेदनको सुनुवाइका लागि अदालतहरू खुला हुने भएका छन् । सर्वोच्च अदालत, उच्च अदालत तथा जिल्ला अदालतले निश्चित दिनबोहक अन्यमा सुनुवाइको तालिका बनाएका छन् । आलोपालोमा न्यायाधीश उपस्थित हुने गरी इजलास व्यवस्था भएको अदालत प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । घटस्थापनादेखि असोज ३० गते कोजाग्रत पूर्णिमासम्म अदालतहरू औपचारिक रूपमा बन्द रहने छन् । 

सर्वोच्च प्रशासनका अनुसार घटस्थापना, शनिबार र विजयादशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणका रिटमा सुनुवाइ हुने छ । निवेदन सुनुवाइका लागि ११ बजेदेखि ३ बजेसम्म अदालत खुला रहने छ । 

यस्तै सर्वोच्चबाहेक मातहतका उच्च र जिल्ला अदालतहरूले पनि सेवा र सुनुवाइको समय तोकेका छन् । उच्च अदालतहरूले पनि बन्दीप्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्ने छन् । जिल्ला अदालतहरूले फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा ९ अनुसारका निवेदनको सुनुवाइ गर्ने छन् । पक्राउ पुर्जी जारी गर्नेसम्बन्धी निवेदन र पक्राउ पुर्जी समर्थनको सुनुवाइ गर्ने छन् । काठमाडौँ जिल्ला अदालतले शनिबार र विजयादशमीबाहेकका अन्य दिनमा यस्ता निवेदनको सुनुवाइ गर्ने गरी सूचना जारी गरेको छ । बिहान ११ देखि ३ बजेसम्म अदालत खुला हुने छ ।