• १८ असोज २०८१, शुक्रबार

बेलिब्रिज बगेको हेवा खोलामा फड्के सञ्चालन

blog

हेवा खोलामा संचालनमा आएको फड्के पुल। तस्बिर : राधा लुइटेल

राधा लुइटेल 

फिदिम, असोज १७ गते। असोज १२ गते आएको बाढीले बेलिब्रिज बगाएको मेची राजमार्गस्थित हेवा खोलामा बिहीबार साँझदेखि फड्के सञ्चालनमा आएको छ।

सोमबारदेखि  बनाउन थालिएको फड्के आज निर्माण सकिएसँगै सञ्चालनमा ल्याइएको नेपाली सेनाको फिदिमस्थित रणशेर गणका गणपति नीरज प्रताप राणाले बताउनुभयो।

तत्काल पुल निर्माण गरेर ठुला सवारीका साधन आवागमन गराउने सम्भावना नदेखिएपछि नेपाली सेनाको अगुवाइमा फड्के बनाउन थालिएको थियो।

सेनाले फलामका पोल, लट्ठा, ढुङ्गा, ग्याबिन जाली र काठपात प्रयोग गर्दै सोमबारदेखि पुल निर्माण गर्न थालेको थियो। सेनालाई पुल बनाउन सशस्त्र प्रहरी, नेपाल प्रहरी र फिदिम नगरपालिकाका नगर प्रहरीले सघाएका थिए।

पुलबाट मानिस, स्कुटर र मोटरसाइकल तर्नसक्ने राणाको भनाइ छ। बाढीले हेवा खोलाको बेलिब्रिज बगाएपछि हेवा पारिका पाँचथरस्थित याङवरक, फालेलुङ र याङवरकसँगै ताप्लेजुङ जिल्ला सडक सम्पर्क विच्छेद भएका छन्।

पुल बगेलगत्तै बसेको जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिको बैठकले हेवा खोलामा तत्काल मानिस आउजाउ गर्न मिल्ने गरी फड्के निर्माण गर्न फिदिम–४ का वडाध्यक्ष उपेन्द्र लावतीलाई संयोजक तोक्दै नेपाली सेनालाई कामको जिम्मा दिने निर्णय गरेको थियो। पुल निर्माणका लागि लाग्ने सामग्रीको व्यवस्थापन फिदिम नगरपालिकाले गरेको हो ।

यसैगरी फिदिम फालौट सडकखण्डमा पर्ने  फेमे खोलामा पनि अहिले साँझ नै फड्के सञ्चालनमा आएको छ।