• १८ असोज २०८१, शुक्रबार

बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख

blog

बिहीबार बसेको गण्डकी सरकारको मन्त्रिपरिषद् बैठक। तस्बिर: मुख्यमन्त्रीको सचिवालय

फडिन्द्र अधिकारी

लेखनाथ, असोज १७ गते। देशका विभिन्न भागमा भएको अविरल वर्षापछिको बाढीपहिरो प्रभावितको सहायताका लागि गण्डकी सरकारले ५० लाख रुपियाँ सहयोग गर्ने भएको छ। बाढीपहिरोमा परी बिहीबारसम्म दुई ३६ जनाको मृत्यु, एक सय ७३ घाइते र १९ जना बेपत्ता रहेको प्रहरीको तथ्याङ्क छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख जम्मा गर्ने निर्णय गरेको हो। गत साता परेको वर्षाले काठमाडौँ उपत्यकालगायत देशैभरका विभिन्न स्थानमा बाढी, पहिरोबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताको खोजी, घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत बैठकले गरेको छ। 

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद्का कारण देशैभर भएको ठुलो मानवीय र भौतिक क्षतिको सामना सबै मिलेर गर्नुपर्नेमा जोड दिनुभयो। 

गण्डकी सरकारले यसअघि जाजरकोट, रुकुम पश्चिममा भूकम्प प्रभावितलाई एक करोड सहयोग गरेको थियो। बैठकले गण्डकी प्रदेशभित्र विपद्का कारण भएको क्षति अध्ययन गर्न समिति गठन गरेको छ। 

पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा प्रेरणा सेढाईको संयोजकत्वमा बनेको समितिमा ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका सिडिई हरिदत्त पौडेल र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रवीण ढकाल सदस्य हुनुहुन्छ। समितिले प्रदेशभर विपदबाट भएको क्षति मूल्याङ्कन गरी १५ दिनभित्र सुझावसहितको प्रतिवेदन सरकारलाई दिनेछ।