काठमाडौँ, असोज १७ गते । एसिया रग्बी महिला तथा पुरुष सेभेन्स शुक्रबारदेखि दशरथ रङ्गशालामा हुने भएको छ ।
एसिया रग्बी महासङ्घको आयोजनामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल रग्बी सङ्घले जनाएको छ । दुई दिने प्रतियोगितामा नेपालसहित १६ वटा एसियाली देशले प्रतिस्पर्धा गर्दैछन् ।
जसमा पुरुष रग्बी सेभेन्सतर्फ १४ र महिला रग्बी सेभेन्समा सात टोलीको सहभागिता रहने सङ्घले जनाएको छ । प्रतियोगितामा दुवै दिन ३०/३० खेल हुनेछ ।
एसियाका चार सय ५० भन्दा धेरै खेलाडी तथा अफिसियलको सहभागिता रहने यस प्रतियोगिताले नेपालमा खेल पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न दुई करोड १० लाख रुपियाँ खर्च हुने सङ्घले जनाएको छ ।