• ११ मंसिर २०८१, मङ्गलबार

गोरखा दरबारको दसैँघरमा जमरा राखियो

blog

गुणबहादुर रोका 

सुलीकोट, असोज १७ गते। नेपालको ऐतिहासिक शक्तिपीठ गोरखा दरबारमा रहेको गोरखाकाली र गोरखानाथमा जमरा राखिएको छ। बिहान ९ बजेर १६ मिनेटको साइतमा विधिपूर्वक जमरा राखी घटस्थापना गर्ने काम सम्पन्न गरिएको गोरखाकाली मन्दिरका मुख्य पुजारी  शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो। 

उहाँका अनुसार दसैँघरको पूजाकोठाको गर्भगृहमा ६ माना जौ, जमारा कोठामा एक पाथी जौ, गोरखानाथ बाबाको गुफामा चार माना जौ, उपल्लोकोट कालीमा एक माना र तल्लोकोटकालीमा एक माना र अन्य विविध ठाउँमा गरी तीन पाथी जतिको जौ को जमरा राखिएको छ। 

अब नियमित रूपमा नवरात्रको पूजा आराधन सुरु हुनेछ। पछिल्लो समय सरकारले दरबारमा आउने बजेट कटौती गरेसँगै सरकारी बलि घटेको छ।  उहाँले भन्नुभयो, “जसमा १६ वटा राँगा, ३६ वटा बोका, १० वटा भेडा, आठ वटा कुखुरा, ५ वटा सुँगुर गरी ८४ वटा बली दिने कार्यक्रम रहेको छ।”

त्यसैगरी प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा पनि सोही साइतमा विधिपूर्वक जमरा राखिएको छ। मनकामना मन्दिरमा भने मकै र जौ को छुट्टाछुट्टै जमरा राख्ने प्रचलन रहेको मनकामना मन्दिरका मूल पुजारी इन्सान थापा मगरले जानकारी दिनुभयो। दसैँघरमा गणेश र कलश स्थापना गरी शुभ साइतमा जमरा राखिएको हो।