• १८ असोज २०८१, शुक्रबार

खोलाको बहावले डाइभर्सन निर्माणमा समस्या

blog

बाढीबाट क्षति पुगेको विपी राजमार्ग अन्र्तगत चौकीडाँडाको सडक । तस्बिर : सामाजिक सञ्जाल

केदार तिमल्सिना 

बनेपा, असोज १७ गते । गत शनिबारको बाढीका कारण क्षति भएको बिपी राजमार्गमा सडक डाइभर्सनमा कठिनाइ भएको छ । बाढीका कारण पूर्ण रूपमा क्षति भएको बिपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सिमाना चौकीडाँडाबाट सडक डाइभर्सन गर्दै अघि बढ्नै समस्या भएको हो । 

सडक डाइभर्सन गर्न समस्या देखिएसँगै बिपी राजमार्ग सञ्चालन हुने आशङ्का पैदा भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सुमन योगेशले रोशी खोलामा पानीको बहाव नघटेका कारण चौकीडाँडाबाट डाइभर्सन गरेर अघि बढ्न समस्या भएको बताउनुभयो । “हिजो चौकीडाँडाबाट रोशी खोला किनारसम्म जाने डाइभर्सन तयार ग¥यौँ, खोलामा पानीको बहाव नघटेका कारण मेसिनहरू खोला तार्न सकिएको छैन, खोलाको बहाव नघटेका कारण दसैँअघि सडक सञ्चालन गर्न सकिएला जस्तो अवस्था छैन, तैपनि हामीले हाम्रो सबै संयन्त्र परिचालन गरेर काम गरिरहेका छौँ, अहिले हाम्रो ध्यान अवरुद्ध सडक खोल्नेतर्फ नै गएको छ,” सिडिई योगेशले भन्नुभयो । 

उहाँले बाढीबाट क्षति भएको चौकीडाँडामा खोला समेत सडकतर्फबाट नै बगेकोले ह्युम पाइप राखेर डाइभर्सन गर्न समेत सम्भावना नरहेको डाइभर्सन अघि रोशी खोलाको धार परिवर्तन गरी खोलालाई दक्षिणतर्फबाट बगाउनुपर्ने अवस्था रहेको बताउनुभयो । डिभिजन प्रमुख सिडिई योगेशले बाढीबाट करिब दुई सय मिटर सडक क्षति भएको चौकीडाँडामा सडकको उचाइ खोलाबाट धेरै माथि भएकोले सडकको भित्तोबाट ट्र्याक बनाउन सम्भावना नभएको बताउनुभयो ।

उहाँले सिन्धुलीको नेपालथोकतर्फबाट डाइभर्सन बनाउन सुरु गरेको टोलीले हिजो एउटा स्थानको काम पनि पुरा गर्न नसकेको बताउनुभयो । “राजमार्ग सञ्चालनको लागि खोलाबाट डाइभर्सन बनाउनुको अन्य कुनै विकल्प देखिँदैन, सडक क्षति भएको स्थानको भित्तो खनेर ट्र्याक बनाउने अवस्था पनि छैन, नेपालथोकतर्फ खोला र सडकको उचाइ कम भएकोले डाइभर्सन बनाउन सहज छ, चौकीडाँडाँतर्फ खोला र सडकको उचाइ धेरै नै भएकोले काम गर्न समस्या देखिएको छ,” उहाँले थप्नुभयो । 

डिभिजन सडक कार्यालय भक्तपुरले क्षतिग्रस्त सडक भएको स्थानमा डाइभर्सन बनाउनका लागि नेपालथोकतर्फबाट छ वटा, मङ्गलटारमा दुई, चौकीडाँडाँमा दुई वटा डोजरलगायतका उपकरण परिचालन भएको जनाएको छ । खोलाको बहाव कम नभएकोले पाँच वटा मेसिनले भकुण्डेदेखि धुलिखेलसम्मको दुवै लेन सडक खुलाउनका लागि बाटोको हिलो, पहिरो पन्छाउने काम गर्ने बताउनुभयो । सडक सुचारु गर्नका लागि आज (बिहीबार) बाट थप दुई वटा मेसिन परिचालन गरिने जनाएको छ । 

रोशी खोलामा आएको बाढीका कारण बिपी राजमार्गको चौकीडाँडादेखि काभ्रेपलान्चोकको सीमा क्षेत्रसम्मको २१ किलोमिटर सडक खण्डको १४ वटा स्थानमा आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको कार्यालयले जनाएको छ । बाढीबाट बिपी राजमार्ग अन्त्रगतको दाप्चा खोलामा एक सय मिटर, चौकीडाँडामा दुई सय मिटर, कटुञ्जेमा पाँच सय मिटर, चार सय बेसीमा पाँच सय मिटर, नार्केमा दुई सय मिटर, पिन्थलीबेशीमा चार सय मिटर, दाउन्नेमा तीन सय मिटर, मङ्गलटार बोक्सीकुनामा छ सय मिटर सडक पूर्ण रूपमा क्षति भएको सिडिई योगेशले बताउनुभयो । 

त्यस्तै बिपी राजमार्ग कै भ्याकुरेखोला कालढुङ्गामा सात सय मिटर, डालाबेशीमा आठ सय मिटर, पिप्लको दुई स्थानमा गरी सात सय मिटर, माम्ती चालिसेमा चार सय मिटर र माम्तीमा आठ सय मिटर सडक पूर्ण रूपमा ध्वस्त भएको छ ।