• ११ मंसिर २०८१, मङ्गलबार

तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँधको ढलान सुरु

blog

तनहुँ जलविद्युत आयोजनाले पानी फाल्नको लागि बनाएको भूमिगत सुरुङ । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, असोज १७ गते । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँधको ढलान कार्य सुरु गरिएको छ । प्याकेज १ अन्तर्गत बाँध खन्ने काम पुरा भई कङ्क्रिट गर्ने कार्य सुरु गरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो ।

भण्डारीका अनुसार बाँधको तल ७० मिटरबाट सुरु भई माथि दुई सय १७ मिटर लम्बाइको दुरी हुने छ । सेती नदी तर्फको बटम भागमा एक सय ३१ मिटरको हुनेछ । माथिमाथि ढलान गर्दै जाँदा चौडाइको भाग पनि बढ्दै गएर दुई सय १७ मिटरको हुनेछ । प्याकेज–१ अन्तर्गत बाँध निर्माणको काम सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन (प्रा. लि.) नेपाल जेभीले गरिरहेको छ ।  

आयोजनाको प्याकेज–२ अन्तर्गत पावरहाउसतर्फ स्टालेसन गर्ने कार्य तीव्र रूपमा भइरहेको छ । आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका प्याकेज–२ को निर्माण कार्य सिनो हाइड्रो कर्पोरेसन, चीनले गरिरहेको छ । 

भूमिगत विद्युतगृह खन्ने कार्य सम्पन्न गरी कंक्रिटिङ स्वीजयार्ड निर्माण, पेनस्टक तथा विद्युतगृहमा रहने  उपकरणहरू जडान लगायतका कार्यहरू भइरहेका छन् । त्यसैगरी,प्याकेज–३ अन्तर्गत ९४ टावरमध्ये ७९ वटा टावरको फाउन्डेसन निर्माण गरिनुका साथै ६९ वटा टावर ठडाइ सकिएको छ । 

बाँकी वन क्षेत्रमा रहेकाले नीतिगत कार्यले रोकिएको आयोजनाले जनाएको छ । यसको निर्माण कार्य केइसी इन्टरनेसनल लिमिटेड, भारतले गरिरहेको छ। हालसम्म ६१ प्रतिशत काम पुरा भएको भण्डारीले जानकारी दिनुभयो । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबिले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले ८ करोड ५० लाख र नेपाल सरकार-नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।