• १० मंसिर २०८१, सोमबार

जीर्ण पुलबाटै जोखिमपूर्ण यात्रा

blog

रमेशबहादुर रावत

अछाम, असोज १७ गते । अछामको पञ्चदेवल विनायक नगरपालिका–९ स्थित चण्डिका माध्यमिक विद्यालयका  छात्राहरू भत्किएको झोलुङ्गे पुलमा जोखिमपूर्ण यात्रा गरेर विद्यालय जान बाध्य भएका छन् । विद्यालयमा अध्ययनरत महिनावारी भएका किशोरी यसरी जीर्ण भएको पुलबाट आवतजावत गर्दा स्थानीय प्रशासन मौन देखिन्छ । 

गत जेठ २७ गते पुलको एकतर्फका लट्ठा चुँडिएर १३ वटा खच्चड फस्दा पुल नै कोल्टे परेको थियो । छिमेकी जिल्ला दैलेखबाट अछामको विद्यालयमा पढ्न आउने छात्राहरू कोल्टे परेको यही पुलबाट यात्रा गरिरहेका छन् । भत्किएर जीर्ण भएको पुलमा स्थानीय प्रशासनले यात्रामा रोक लगाए पनि किशोरीहरू आवातजावत गरिरहेका छन् । 

अर्को पुल नभएर किशोरीहरूले यात्रा गर्न नपाएका भने होइनन, जीर्ण पुलको करिब पाँच सय मिटरनजिक अर्को पुल छ । नवनिर्मित सो पुलनजिकै मन्दिर रहेकाले महिनावारी भएका किशोरीहरू सो पुलबाट हिँड्दा देवता रिसाउने भन्दै यात्रा गर्दैनन् । कक्षा ७ मा अध्ययनरत दैलेखको आठबिस नगरपालिका–५ की तुलसी चौलागाईंले आफूहरू महिनावारीको नौ दिनसम्म जीर्ण पुलबाटै विद्यालय आउने जाने गरेको बताउनुभयो । महिनावारी नहँुदा नवनिर्मित पुलबाट विद्यालय जाने गरेको बताउने चौलागार्इंले महिनावारीको समयमा विद्यालयमा नजाँदा आफ्नो पढाइ छुट्ने भएकाले जीर्ण पुलबाटै जाने गरेको बताउनुभयो । 

विद्यालयकी अर्की छात्रा गीता सुनारले विद्यालयमा हाजिर नहुँदा प्रतिदिन २० रुपियाँ जरिबाना तिर्नुपर्ने नियम रहेको बताउनुभयो । विद्यालयमा नजाँदा पढाइ प्रभावित हुने र विद्यालयले जरिबानासमेत तिराउने भएकाले जीर्ण पुलबाटै जानु परेको उहाँले दुःखेसो पोख्नुभयो । उहाँले जीर्ण पुलको मर्मतका लागि सरकारसँग आफ्ना कुरा पु¥याइदिन अनुरोध गर्नुभयो । नयाँ बनेको पुलबाट महिनावारीको समयमा यात्रा गर्न नहुने स्थानीयको विश्वास छ । नवनिर्मित पुलको दैलेखतर्फ नैनेल देवताको मन्दिर छ । परापूर्वकालदेखि स्थानीयले नैनेल देवताको पूजा गर्दै आएका छन् । महिनावारी तथा गर्भवती भएको अवस्थामा मन्दिरनजिक जान नहुने यहाँको धार्मिक विश्वास छ । चण्डिका माध्यमिक विद्यालय अछामका लेखापाल गणेश कार्कीका अनुसार पहिलेको तुलनमा विद्यालयमा छात्राको उपस्थिति कम देखिएको छ । केही छात्रा जोखिम मोलेर विद्यालय आउने गरेको भए पनि अधिकांश छात्रा महिनावारीको नौ दिनसम्म विद्यालयमा अनुपस्थित रहेका छन् । 

विद्यालयका छात्रा मात्र हैन अछामको पञ्चदेवल विनायक नगरपालिकाका अधिकांश गर्भवती महिला र महिनावारी हुने महिला दैलेखको खिड्कीज्यूला बजारमा सामान किन्न जाँदा लट्ठा चुँडिएर जीर्ण बनेको पुलबाटै यात्रा गर्ने गरेका छन् । सो वडाका वडाध्यक्ष रामप्रसाद जैसीका अनुसार पुलको पुनर्निर्माण नभएसम्म स्थानीयलाई दुःखै हुन्छ । स्थानीयको धार्मिक आस्थासँग जोडिएको कुरा भएकाले जनप्रतिनिधिले पनि उनीहरूलाई कर गर्न नमिल्ने उहाँको भनाइ छ । स्थानीय महिला र विद्यालयमा अध्ययनरत किशोरीले पुल पुनर्निर्माणको माग गरेका छन् । 

पञ्चदेवल विनायक नगरपालिकाकी नगरप्रमुख अम्बिका चलाउनेले रूढिवादी मान्यताले ग्रस्त समाजमा एकै पटक महिला मन्दिरको बाटो हँुदै जान नसकेको बताउनुभयो । 

सामाजिक मान्यताको नाममा महिलाले दुःख पाएको बताउँदै उहाँले राज्यले निर्माण गर्ने भौतिक संरचना क्षेत्र, समुदाय र स्थानीयको मर्म बुझेर निर्माण गर्नुपर्ने बताउनुभयो । 

नगरप्रमुख चलाउनेले छाउपडी कुप्रथा न्यूनीकरणका लागि आफू स्वयम् गोठ भत्काउँदै हिँडेको बताउँदै पुलनजिक पर्ने मन्दिर दैलेख जिल्लामा पर्ने भएकाले सो मन्दिरका विषयमा आफूले केही पनि गर्न नमिल्ने बताउनुभयो । पुलको मर्मत तथा नयाँ पुल निर्माणका लागि आफूले सम्बन्धित निकायमा माग गरेको उहाँको भनाइ छ । 

दैलेखको आठबिस नगरपालिका–६ का दीपबहादुर शाहीका अनुसार उक्त झोलुङ्गे पुल २०६२ सालमा बनेको हो । त्यहाँ पुल बन्नुभन्दा पहिला डुङ्गाको प्रयोग हुन्थ्यो । उहाँका अनुसार यहाँ झोलुङ्गे पुल बन्दै गर्दा पक्की पुलको योजना बनेको थियो तर अहिलेसम्म पक्की पुल बन्न सकेन । पुल निर्माण गरेको निकाय सस्पेन्सन बृज डिभिजन ललितपुरका इन्जिनियर जयप्रकाश गुप्ताले आफूहरूसँग सो पुलको कुनै पनि विवरण नभएको बताउनुभयो ।