• १० मंसिर २०८१, सोमबार

हराउँदै सनपाटका सामग्री

blog

पुरन कविरथ सनपाटबाट चटाई बनाउँदै ।तस्बिर : बाबुराम कार्की

वराहक्षेत्र समाचारदाता

वराहक्षेत्र, असोज १७ गते । परम्परागत सिप पुस्ता हस्तान्तरण नहुँदा सनपाटबाट बनाइने रैथाने सामान लोप हुँदै गएको छ । वर्षायाममा रोपाइँ सकिएपछि कृषकहरू केही समयका लागि फुर्सद  हुन्थे । कृषिकर्मबाट फुर्सद पाएका कृषकहरू समयको सदुपयोग गर्दै पटुवाका सामग्री बनाउन व्यस्त रहन्थे । वर्षभरिका लागि चाहिने सनपाटको डोरी, दाम्ला, रस्सा र चकटी बुन्नु त्यसताका कृषकको दैनिकी हुन्थ्यो । 

पूर्वी नेपालको तराई क्षेत्रका ग्रामीण बस्तीमा वर्षा सकिएसँगै पटुवाका सामग्री बनाउनु दैनिकी नै हुन्थ्यो । वर्षायाममा निकालेको पटुवा (सनपाट) बाटेर वर्ष दिनसम्म पुग्ने गरी डोरी, दाम्ला बनाएर राख्ने गरेकोे दिनचर्यालाई स्मरण गर्दै ८२ का पचन्दन कविरथले भन्नुभयो, “आजकल प्लास्टिकका सामग्री बजारमा पाइने भएकाले दाम्लो नि बाट्दैनन्, पटुवा नि रोप्दैनन् ।”

पटुवाबाट बनाइने सामग्रीभन्दा प्लास्टिकका सामान सस्तो र राम्रो देखिने र सर्वसुलभ रूपमा पाइन थालेपछि पटुवाका सामान गाउँघरमा देखिन छाडेका छन् । आधुनिकताका नाममा परम्परागत प्रविधिका साधनहरूको अस्तित्व नै मेटिँदै गएको छ । परम्परागत घरेलु सामग्री, पुराना प्रविधिगत सामग्री र रैथाने सामग्री गाउँबाट हराउँदै गएका छन् । 

दुई दशकअघिसम्म किसानका घरमा गाईवस्तु बाँध्न, पगाहा लगाउन र टुकी बत्ती बाल्न सनपाटको प्रयोग हुँदै आएको थियो । प्रत्येक किसानका घरमा सनपाटकै डोरी, दाम्ला हुन्थे । पुर्खाले दैनिक जीवनमा प्रयोग हुने सामान आफँै बनाउँथे । आफूलाई चाहिने सिप हरस्तान्तरण हुन्थ्यो । आफ्ना दाजुभाइ, छोराहरूले बाबुको बिँडो धन्ने परम्पराले मानिसलाई सिर्जनशील बनाउन मद्दत पुगेको थियो । 

वराहक्षेत्र–९ का ५४ वर्षीय जङ्गली कविरथले २५ वर्षअगाडि बाबुले बनाएको सनपाटको चट्टी अझै प्रयोग गरिरहेको बताउनुभयो । आफूले नसिक्दा बाबुबाजेको सिप लोप भएर गएको उहाँ बताउनुहुन्छ । अहिलेका धेरै जसो युवालाई डोरी पनि सनपाटबाट बनाइन्थ्यो भन्दा अचम्म लाग्न सक्छ । अधिकांश गाउँबाट सनपाटका सामग्री लोप भइसकेका छन् । पहिला ग्रामीण क्षेत्रमा बसोबास गर्ने अधिकांश किसानले सनपाट खेती गर्थे । अहिले न सनपाट खेती हुने न दाम्लो नै बाटिने प्रकाशपुरका वीरबहादुर कार्कीले बताउनुभयो । अहिले सनपाटको ठाउँमा प्लास्टिकका डोरीको प्रयोग हुन थालेकाले गाउँबाट रैथाने सिप पाका पुस्तासँगै हराउँदै गएका छन् । 

गाउँले दैनिकी जीवनसँग प्रत्यक्ष जोडिएको सनपाटबाट बनाइने सिप र कलाहरू पनि लोप भएर गएको ७८ वर्षका मुराली कविरथ बताउनुहुन्छ । तराईका बस्तीमा सनपाटबाट बनाइएको चटाई आजकल देख्न छोडिएको छ । “समयमा चासो नराख्दा बाबुबाजेको सिप सिक्न सकिएन,” वराहक्षेत्र–९, कौवाटोलीका ४४ वर्षीय पवन कविरथ मण्डलले भन्नुभयो । पाँचसात किलो सनपाटमै तयार हुने चटाई स्वास्थ्यका दृष्टिले समेत राम्रो मानिन्थ्यो । 

पटुवाको सामग्री बनाउने सिप भएका मानिस गाउँमै नहुँदा दैनिक प्रयोगमा आउने सामग्री बनाउने सिप र कलाहरू पनि लोप भएर गएको ७० वर्षीय नेत्रबहादुर घिमिरे बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यस्ता सामग्रीका बारेमा अहिलेका पुस्तालाई जानकारीसमेत छैन । कतिपय सामान नभेटिने अवस्थामा पुगेका छन् ।”