• १० मंसिर २०८१, सोमबार

विद्युतीय गाडीलाई पर्याप्त चार्जिङ स्टेसनको अभाव

blog

चितवन, असोज १७ गते । विद्युतीय गाडी प्रयोगकर्ता वृद्धि भए पनि पर्याप्त चार्जिङ स्टेसनको अभाव  भएको छ । बिक्री र प्रयोगकर्ताको अनुपातमा स्टेसनको अभाव हुँदा लामो लाइन बस्नुपर्ने समयमा चार्ज गर्न नपाएर समस्या पर्ने गरेको हो । 

बुधबारबाट भरतपुरमा सुरु भएको गाडी बिक्री मेलामा विद्युतीय गाडी बिक्रेताले यस्तो समस्या औँल्याउनु भएको हो । चितवन अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष राजन पियाले विश्वमा विद्युतीय गाडी प्रयोगकर्ताको दर नेपालमा उच्च भएको बताउनुभयो । यति छिटो विद्युतीय गाडी प्रयोग गर्नेको सङ्ख्या नेपालमा वृद्धि भएको विश्वमा नै उच्च छ । प्रयोगकर्ताको अनुपातमा चार्जिङ स्टेसनको कमी भएको छ । देशकै मध्यभाग रहेको चितवनमा धेरै सङ्ख्यामा चार्जिङ स्टेसन राख्नका लागि उहाँले माग गर्नुभयो ।

सरकारीस्तरबाट जिल्लाको दुई स्थानमा चार्जिङ स्टेसन राखिएको छ । निजीस्तरबाट पनि राखिएको छ । सबै गरेर जिल्लामा ३० वटा चार्जिङ स्टेसन रहेका छन् तर ती स्टेसनले पुग्ने अवस्था नरहेको उहाँले बताउनुभयो । 

उहाँका अनुसार जिल्लामा निजी विद्युतीय गाडी चार सयको सङ्ख्यामा सञ्चालनमा रहेका छन् । सार्वजनिक सवारीसाधन दुई सय छन् । सबै गरेर छ सयभन्दा धेरै विद्युतीय सवारीसाधन जिल्लामा रहेका छन् । यसका लागि जम्मा सरकारी दुई वटा चार्जिङ स्टेसनले भार धान्न नसक्ने उहाँले बताउनुभयो । 

चितवन अटोमोबाइल डिलर्स एसोसिएसनका पूर्वअध्यक्ष ईश्वरकुमार श्रेष्ठले निजीले आफ्नो घरमा चार्ज गरेर हिँडे पनि जिल्लाबाहिर जाँदा र बाहिरका चितवन भएर जानेका लागि यहाँ भएका स्टेसनले नपुग्ने बताउनुभयो । दसैँमा राजधानीसहित अन्य जिल्लाबाट चितवन हुँदै बाहिरिनेका लागि भएको चार्जिङ स्टेसनले भार धान्न नसक्ने बताउनुभयो । 

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले चार्जिङ स्टेसन निर्माणका लागि पहल भइराखेको जानकारी दिनुभयो । देशकै सबैभन्दा धेरै चार्जिङ स्टेसन भरतपुरमा निर्माण गर्ने तयारी भएको जानकारी दिनुभयो । 

पहिलो पटक सुरु भएको मेलामा २५ भन्दा बढी ब्रान्डका गाडी प्रदर्शनीमा राखिएको छ । मेलामा  ८० प्रतिशत विद्युतीय सवारीसाधन रहेका छन् ।