• १८ असोज २०८१, शुक्रबार

बेलायती जेटहरुले इजरायलको रक्षामा ‘आफ्नो भूमिका निभाए’-बेलायत

blog

लन्डन, असोज १६ गते । बेलायती सरकारले बुधबार इरानले इजरायलमाथि मिसाइलहरु प्रहार गरेपछि बेलायती सशस्त्र बलहरुले ‘थप प्रहार रोक्ने प्रयासमा आफ्नो भूमिका निभाएको’ बताएको छ । 

इजरायलको समर्थन गर्ने अभियानमा मङ्गलबार राति रोयल एयर फोर्सका दुई टाइफुन जेट र एक भोयाजर एयर–टु–एयर रिफ्युलिङ ट्याङ्कर संलग्न भएको रक्षा मन्त्रालयको वक्तव्यमा उल्लेख छ । “यो आक्रमणको प्रकृतिका कारण तिनीहरुले कुनै लक्ष्यलाई निशाना बनाएनन् तर तिनीहरुले व्यापक प्रतिरोध र थप वृद्धिलाई रोक्ने प्रयासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे”, वक्तव्यमा भनिएको छ । 

इरानले पछिल्लो पटक अप्रिलमा इजरायलमाथि मिसाइल र ड्रोनहरुले आक्रमण गर्दा बेलायतले यस्तै भूमिका निर्वाह गरेको थियो । त्यतिबेला रोयल एयर फोर्सका जेटहरुले केही ड्रोन खसाल्न सहयोग गरेका थिए । रक्षामन्त्री जोन हिलीले मङ्गलबार एक वक्तव्य जारी गर्दै इरानको पछिल्लो कार्यहरुको निन्दा गर्नुभयो । 

“बेलायती सेनाले आज साँझ मध्यपूर्वमा थप तनाव रोक्ने प्रयासमा आफ्नो भूमिका निर्वाह गरेको छ”, उहाँले भन्नुभयो, “बेलायत आफ्नो देश र जनतालाई खतराबाट बचाउने इजरायलको अधिकारको पूर्ण समर्थनमा उभिएको छ ।” बुधबार हिलीले बेलायतका प्रमुख सैन्य अड्डा रहेको साइप्रसको भ्रमण गर्नुभयो र लेबनानबाट बेलायती नागरिकहरूलाई निकाल्ने सम्भावनाका लागि तयारी गरिरहेका बेलायती सैनिकहरुसँग भेट गर्नुभयो । 

इजरायलले लेबनानविरुद्ध स्थल आक्रमण सुरु गरेपछि सम्भावित निकासीको तयारीका लागि सयौँ बेलायती सैनिकहरु टापूमा तैनाथ गरिएका छन् । लडाइँका कारण बेरुतको विमानस्थल बन्द हुनसक्ने सम्भावनाका लागि बेलायतले सम्भावित निकासीको योजना बनाइरहेको छ । 

बेलायती विदेशमन्त्री डेभिड लामीले लेबनानबाट बेलायती नागरिकहरुलाई लिएर जाने पहिलो चार्टर उडानले ‘अब प्रस्थान गरेको’ बुधबार पुष्टि गर्नुभयो । “हामीले भोलि बिहीबारका लागि अर्कै उडानको व्यवस्था गरेका छौँ र आगामी दिनहरुमा भाग भएसम्म र सुरक्षित हुँदासम्म थप उडानहरु गर्नेछौँ”, उहाँले एक्समा लेख्नुभएको छ । 

उहाँले लेबनानमा अझै रहेक बेलायती नागरिकहरुलाई बेलायती विदेश मन्त्रालयमा दर्ता गर्न र ‘तुरुन्तै देश छाड्न’ आग्रह गर्नुभयो । रासस/एएफपी