• १० मंसिर २०८१, सोमबार

सुनसरीका बाढीपीडितले पाएनन् राहत

blog

बाढीले विस्थापित ज्ञानोदय विद्यालय । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

 इनरुवा, असोज १६ गते। सुनसरीको इनरुवा नगरपालिका ४ का बाढीपीडित १० परिवारले आठ दिनदेखि भोकभोकै बसेको गुनासो गरेका छन्।   

एकसाता अघि सुनसरी खोलामा आएको बाढीले डुबानमा परेको र घर बगाएपछि विस्थापित बनेका १० परिवार मरिक र सदा सुकुम्बासीको जनजीवन प्रभावित भएको हो। सकुम्बासी बस्तीका बाढीपीडित आठ दिनदेखि एकछाक भुजा मात्रै खाएर बाँकी समय भोकभोकै बसेको विस्थापित अनुशा मरिकले गुनासो गर्नुभयो।

गत हप्ताको तीन दिनसम्म परेको अविरल वर्षा र त्यसपछि आएको बाढीले घर डुबानमा परेका १० परिवार मरिक र सदा सुकुम्बासी आठ दिनअघि विस्थापित भएर इनरुवा ४ को ज्ञानोदय आधारभूत विद्यालयमा बस्दै आएका छन्। विस्थापितको दैनिक दिनचर्या मजदुरी गरेर खाने गरेकोमा बाढीपछि रोजगारीसमेत नपाएकाले आठ दिनदेखि भोकभोकै बस्न बाध्य भएको गुनासो गरेका छन्।

बाढीबाट विस्थापित मनभरन मरिकका अनुसार बाढीमा भाँडावर्तनसमेत बगाएपछि आफूहरुलाई खाना बनाउन र बस्न समस्या भएको छ। मरिकले आफूहरुको पीडितलाई सुन्ने कोही पनि नआएको र विद्यालयमा बस्दै आएकोमा पहिलो पटक मानवअधिकारकर्मी र मिडियाका व्यक्ति आएको बताउनुभयो। 

उता इनरुवा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बौवालाल मेहताले केही परिवार मरिक र सदा सुकुम्बासीलाई दुई दिनअघि राहत वितरण गरेको र कोही भोकभोकै नबसेको दाबी गर्नुभएको छ। 

पीडितहरुले थप राहतका लागि गुनासो गरेकोमा त्यसका लागि जिल्ला प्रशासन कार्यालय, इनरुवा नगरपालिका दैवी प्रकोप समितिमा जानकारी गराएको पहलमा जुटेको प्रतिक्रिया दिनुभयो।