• ९ मंसिर २०८१, आइतबार

मध्यपहाडीको खुर्कोट-घुर्मी खण्डमा पहिरो पन्छ्याइँदै

blog

मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डमा पहिरो पन्छाइँदै । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा

सिन्धुलीमाढी, असोज १६ गते । बाढीपहिरोका कारण झण्डै एक सातादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अन्तर्गत ६१ किलोमिटर लम्बाइको सिन्धुलीको खुर्कोट–उदयपुरको घुर्मी खण्ड पहिरो पन्छाउन सुरु गरिएको छ ।

बाढी पहिरोका कारण उक्त खण्डको विभिन्न ठाउँमा झरेको पहिरो जेसिभि, एक्स्काभेटर र डोजर लगाएर पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माले उक्त खण्डमा जतिसक्दो चाँडै यातायात सेवा सुचारु गर्न पहिरो पन्छाउन तीव्रता दिइएको जानकारी दिनुभयो । 

खुर्कोट नजिक हैबारको अक्करेभिरबाट मङ्गलबारदेखि मेसिनद्वारा पहिरो पन्छाउन सुरु गरिएको उहाँले सुनाउनुभयो । कार्यालयका अनुसार बाढी पहिरोका कारण गोलन्जोर गाउँपालिका अन्तर्गत हैबारको अक्करे भिर, हैबारबेंसी, बलेनी,  मुर्कीबेसी, कुखुरेटार, कालीआँप र कुँडुले, फिक्कल गाउँपालिका अन्तर्गत सुम्नामबेसी, नवलपुर, निगुरेखोला, पञ्चकन्या र थोल्मेघाट लगायत  दर्जन बढी स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध छ ।

स्थानीय तह, सङ्घीय सरकार र सडक आयोजनाको दुई वटा मेसिन प्रयोग गरेर पहिरो पन्छाउने काम भई रहेको छ । उक्त सडक खण्डको खुर्कोटबाट पहिरो पन्छाउँदै (सडक सफा गर्दै) बुधबारसम्म दुई वटै मेसिन गोलन्जोर गाउँपालिका–३ को मुर्कि बेसीमा पुगेको छ । 

यो पनि पढ्नुहोस

खुर्कोटमा सेनामार्फत बेलीब्रिज बनाउन सिफारिस

करिब पाँच सय मिटरको अक्करे भिर, हैबारबेसी, बलेनीको पहिरो पन्छाई सकेको उक्त कार्यमा खटिनु भएका नेकपा एमालेका नेता तथा पूर्व बागमती प्रदेशमन्त्री प्रदीप कटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार घुर्मीबाट पनि दुई वटा मेसिनले पहिरो पन्छाउँदै गोलन्जोर गाउँपालिका–१ कुँडुलेमा आइपुगेको छ ।

अक्करे भिरको पहिरोले बर्सेनि बर्षादको मौसममा सधैँ सास्ती दिने गरेको र हिउँदको मौसममा समेत सुख्खा पहिरो खसेर दुःख दिँदै आएको स्थानीय सुमन कोइरालाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, "बाढीपहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सिन्धुली जिल्लाको पूर्वी क्षेत्र सहित रामेछाप, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु लगायतका पहाडी तथा हिमाली जिल्लाका बासिन्दा यातायात सेवाबाट वञ्चित भएका छन् ।"

उता बिपी राजमार्गअन्तर्गत नेपालथोक–धुलिखेल खण्डको सुनकोसी गाउँपालिका–१ दुम्जा प्रहरी चौकी नजिक डाइभर्सन गरी रोशी खोलालाई तर्काएर ट्रयाक सडक निर्माण गर्न सुरु गरिएको छ । उक्त ठाउँमा रोशी खोलामा आएको बाढीले भत्काएको करिब अढाई सय मिटर सडकमा ट्रयाक सडक खोलेर यातायात सुचारु गर्न लागिएको डिभिजन सडक कार्यालय खाल्टे सिन्धुलीले जनाएको छ ।

कार्यालय प्रमुख पारसमणी हमालले बगाएको उक्त सडकमा ट्रयाक खुलेपछि काभ्रेको मंगलटारसम्म सवारी सञ्चालन हुने बताउनुभयो । बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गकै खुर्कोट–नेपालथोक खण्डमा पहिरो पन्छाई एकतर्फी यातायात सुचारु भइसकेको उहाँले बताउनुभयो । 

गाउँपालिका उपाध्यक्ष कपिल कोइरालाले रोशी खोलालाई पूर्वतर्फ तर्काएर मङगलबारदेखि नै ट्रयाक सडक बनाउन थालिएको जानकारी दिनुभयो उहाँले भन्नुभयो, "सडक डिभिजन कार्यालयको एक्स्काभेटर प्रयोग गरी अस्थायी ट्रयाक सडक खोलेर यातायात सुचारु गर्न लागेका छौँ । बिपी राजमार्गको धुलिखेलदेखि भकुण्डेबेसीसम्म यातायात खुली सकेको छ । दसैँअघि नै नेपालथोक–धुलिखेल खण्डमा पनि यातायात सुचारु गर्न सकिन्छ कि भन्ने आसा पलाएको छ ।"

नेपालथोक–धुलिखेल खण्डमा डेढ किलोमिटर सडक पूर्ण क्षति भएको अनुमान छ । बिपी राजमार्गको कुल १६० किलोमिटर लम्बाई मध्ये बर्दिबासदेखि नेपालथोकसम्म ११० किलोमिटर सडकमा यातायात खुलेको छ ।