• १० मंसिर २०८१, सोमबार

बजेट अभावमा अलपत्र बार्जुकोट भ्युटावर

blog

निर्माणको काम रोकिएपछि अलपत्र परेको बार्जुकोट भ्युटावर । तस्बिरः शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, असोज १६ गते । बाजुरामा पर्यटकीय क्षेत्रको रूपमा निर्माण गरिएको बुढीगङ्गा नगरपालिका–४ स्थित बार्जुकोट भ्युटावर अलपत्र परेको छ ।आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने तथा यहाँका स्थानीयको आर्थिकस्तर उकास्ने लक्ष्यसाथ निर्माण थालिएको सो भ्युटावर निर्माणको काम रोकिँदा अलपत्र परेको हो ।

पर्यटकीय क्षेत्रको रूपमा रहेको सो टावर निर्माणको काम सम्पन्न नहुँदा अलपत्र रहेको बुढीगङ्गा नगरपालिका–४ का स्थानीय रामचन्द्र गिरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो टावरभन्दा त यहाँ रहेको पहिलाको दरबारलाई नै निर्माण गरिदिएको भए बरु त्यसमा अहिले वयोवृद्ध युवायुवतीहरू अवलोकनका लागि आउने जाने । त्यसलाई सङ्ग्रहालयको रूपमा पनि लिन सकिन्थ्यो ।”

यो काम न काजको भ्युटावर निर्माण गरेपछि अहिले यहाँका किशोर किशोरीहरू मदिरा र ध्रुमपान सेवन गर्ने गरेको गिरीले बताउनुभयो । टावर निर्माण गरे पनि त्यसको काम सम्पन्न नहुँदा टावर अलपत्र परेको हो । टावर ठड्याउने काम मात्र भयो । लामो समयदेखि काम सम्पन्न भएन, स्थानीयको भनाइ छ । 

टावर सञ्चालनमा नल्याउँदा कतिपयका लागि अहिले यो गलत क्रियाकलाप गर्ने ठाउँको रूपमा स्थापित हुन थालेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । अहिले यो टावरमा १५ देखि २५ वर्ष उमेरका केटाकेटी बिहान, दिउँसो र रातिसम्म जाँडरक्सी लगायत ध्रुमपान तथा मद्यपान गरेर त्यहीँ समय बिताउने गर्छन् ।

करिब पाँच वर्षदेखि बार्जुकोट भ्युटावर निर्माणको काम अलपत्र छ । टावर निर्माण सम्पन्न तथा सञ्चालन गर्ने विषयमा कसैले चासो लिएका छैनन् । टावर वन तथा पर्यटन विकास कार्यक्रम अन्तर्गत पर्ने भएकाले यसको रेखदेख डिभिजन वन कार्यालयले गरेको बुढीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय नरेन्द्र नाथले बताउनुभयो ।

प्रदेश सरकार अन्तर्गतको पर्यटन विकास मन्त्रालयको आर्थिक सहयोगमा आव २०७७–७८ मा बार्जुकोटमा भ्युटावर निर्माणको काम सुरु गरिएको थियो । ऐतिहासिक तथा पुरातत्त्वको दृष्टिकोणले महत्त्वपूर्ण मानिएको आर्जुकोट दरबार क्षेत्रमा निर्माण गरिएको भ्युटावर निर्माणका लागि आव २०७७–७८ मा ३५ लाख र आव २०७८–७९ दोस्रो वर्ष ५० लाख रुपियाँ बजेट विनियोजन गरिएको समितिका सचिव डम्मर रावतको भनाइ छ ।  

उहाँले भन्नुभयो, “टावर निर्माण उपभोक्ता समितिले उक्त रकमबाट पहिलो वर्ष चार लाख र दोस्रो वर्ष ३० लाख रुपियाँ भुक्तानी लिए पनि ७५ प्रतिशत काम मात्र सम्पन्न गरेको छ ।’’ रकम अपुग भएका कारण टावर निर्माणको काम अलपत्र परेको उहाँको भनाइ छ । 

आव २०५८–५९ सालमा सशस्त्र द्वन्द्वका बेला तत्कालीन नेकपा (माओवादी) ले  भत्काइदिएका थिए । भ्युटावर सञ्चालन गर्ने निकाय सक्रिय नहुँदा विकृति बढ्दै गएको र अहिले बाटोमा हिँड्न पनि डरलाग्दो भएको गुनासो स्थानीयवासीको छ ।