• १२ पुस २०८१, शुक्रबार

जमिन भाडामा लिएर बास्मती धान उत्पादन

blog

बादी समुदायलाई उपलब्ध गराइएको जमिनमा लगाइएको हंसराज बास्मती धान । तस्बिर : डिलबहादुर सिंश

डिलबहादुर सिंह
जोरायल (डोटी), असोज १६ गते ।
डोटीको जोरायल गाउँपालिकाले बास्मती धान उत्पादनका लागि बादी समुदायका घर परिवारलाई जमिन भाडामा दिएको छ । परम्परादेखि नै नाचगान गर्ने पेशामा आबद्ध बादी समुदायको पेशा सङ्कटमा पर्न थालेपछि धान खेतीका लागि जमिन भाडामा लिएर बादी समुदायलाई उपलब्ध गराएको छ ।

परम्परादेखि नै विवाह, ब्रतबन्ध, चाडपव र मेलामा नाच गरेर जिवन निर्वाह गर्दै आएका बादी समुदायका व्यक्तिहरुलाई यस पेशाबाट आम्दानी कम हुन थालेसँगै घर परिवार पाल्न समस्या हुँदै आएको थियो । जोरायल गाउँपालिकाले स्थानीय व्यक्तिबाट पाँच रोपनी जमिन भाडामा लिएर बादी समुदायका १० घरपरिवारलाई  हंसराज बास्मती धान उत्पादनका लागि उपलब्ध गराएको हो ।

जोरायल गाउँपालिका उपाध्यक्ष जमुना रोकाया बोहराका अनुसार विपन्न वर्गका व्यक्तिहरुका लागि आय आर्जनमा सहज होस् भन्ने उद्देश्यले सामुदायिक खेती प्रणालीअन्तर्गत आर्थिक २०७५/०७६ देखि नै वार्षिक रुपमा प्रति रोपनी १५ हजारका दरले ७५ हजार रुपियाँ जमिनको भाडा बाफत दिइदै आएको छ ।

उपाध्यक्ष बोहराले भन्नुभयो, “नियमित रुपमा खेती गर्ने जमिन पनि नभएका बादी समुदायका व्यक्तिहरुलाई बिहान बेलुका के खाने भन्ने समस्या देखिएको थियो । हामीले जमिनको भाडा बाफतको रकम गाउँपालिकाबाट तिर्नुपर्ने निर्णय गरेका छौं । यसबाट थोरै भए पनि बादी समुदायका व्यक्तिहरुलाई राहत भएको छ । जमिन भाडामा दिने बारेको सम्झौता प्रत्येक तीन तीन वर्षमा नवीकरण हुने व्यवस्था गरिएको छ ।”

डोटीको जोरायल क्षेत्र हंसराज बास्मती धान उत्पादन हुने क्षेत्रका रुपमा चिनिन्छ । यस क्षेत्रमा उत्पादन हुने बास्मती पछिल्लो समय जिल्ला बाहिर पनि निर्यात हुन थालेको छ । जोरायल गाउँपालिका नायव सुब्बा चन्द्रबहादुर सार्कीले भन्नुभयो, “जोरायल गाउँपालिका वडा नं. ३ र ४ मा बसोबास गर्दै आउनुभएका २० घर परिवारमध्ये बादी समुदायका १० घरपरिवार यसबाट प्रत्यक्ष लाभान्वित हुनु भएको छ । आफ्नो जमिन नभएकाहरुले पालिकाले उपलब्ध गराएको जमिनबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ  ।”

गाउँपालिकाले उपलब्ध गराएको जमिनबाट भएको उत्पादन बिक्रीबाट आम्दानी हुँदै आएको कटैनी देवी बादीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी त बाजे बराजुका पालादेखि नै नाचगान गरेर त्यसै बाफत प्राप्त भएको अन्न ल्याएर खान्थ्यौं । घर परिवारको सङ्ख्या पनि बढ्दै जान थाले पछि आम्दानी घट्न थाल्यो । हाल पालिकाले जमिन उपलब्ध गराएर खेती गर्न दिए पछि थोरै भए पनि राहत भएको छ । ”

पालिकाले उपलब्ध गराएको जमिनमा वर्षाको समयमा हंसराज बास्मती धानको उत्पादन हुँदै आएको छ, भने हिउँदको समयमा गहुँ र बेमौसमी तरकारीको उत्पादन गरेर आम्दानी गर्दै हुने गरेको छ । सो क्षेत्रमा प्रति रोपनी तीन क्विन्टलसम्म धान उत्पादन हुँदै आएको छ । जोरायल क्षेत्रमा उत्पादन हुँदै आएको बास्मतीलाई स्थानीय सहकारी मार्फत जिल्ला बाहिर निर्यातका लागि बजारीकरण हुँदै आएको छ ।