• ९ पुस २०८१, मङ्गलबार

बेमौसमी तरकारी खेतीले आयात प्रतिस्थापन

blog

मनाङ ङिस्याङ गाउँपालिकामा लगाइएको बेमौसमी तरकारी ।

यदुप्रसाद भट्ट

मनाङ, असोज १६ गते ।  मनाङका चार वटै पालिकामा एक दशकयता टनेल खेतीको अभ्यास हुँदै आएको छ । समुद्री सतहदेखि दुई हजार सात सय मिटर उचाइमा अवस्थित सदरमुकाम चामेमा मात्र नभई तीन हजार ५४० मिटर उचाइमा पर्ने मनाङ ङिस्याङ गाउँपालिकामा बन्दा, गाँजर, मुला, गोलभेँडा, रायोलगायत बेमौसमी तरकारी उत्पादन हुन थालेको छ । 

तरकारी उत्पादन हुन थालेपछि आन्तरिक खपतसँगै निकासी गर्न थालिएको र आयात प्रतिस्थापन सम्भव हुन थालेको कृषि ज्ञान केन्द्र मनाङले जनाएको छ । खेतीपाती तथा कृषिका लागि दुर्गम मानिने हिमाली जिल्ला मनाङ भए पनि बेमौसमी तरकारी खेतीले किसान र स्थानीय बासिन्दालाई उत्साहित बनाएको छ । चामेका युवा उद्यमी कृषक सेराप विष्टले आफ्नै जमिनमा बैमौसमी तरकारी खेती गरेको बताउनुभयो । 

मनाङमा कृषि पकेट क्षेत्र तोकिएका अन्य स्थानमा जस्तै व्यावसायिक रूपमा विभिन्न प्रजातिका अन्न र कृषि उपज उत्पादन हुन थालेका छन् । यसले किसानलाई उत्साहित बनाएको विष्टले बताउनुभयो । उहाँले आफूले होटेलका लागि पनि आफैँ उत्पादन प्रयोग गर्ने गरेको तथा बढी भएको तरकारी, फलफूल बेच्ने गरेको बताउनुभयो ।

बेमौसमी तरकारीतर्फ उत्साही भएका किसान विश्वव्यापी तापक्रम वृद्धिले हिमपात कम भएर रैथाने बालीनाली लोप हुने अवस्थामा पुग्दा भने बेखुसी हुन पुगेका छन् । रैथाने बालीनालीको स्वाद र गुणस्तर खस्किँदै गएकोमा उनीहरूको चिन्ता छ । पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङले बाहिरबाट तरकारी आयात गर्नुभन्दा यहीँ थोरै भए पनि उत्पादन गरेको बताउनुभयो । उहाँले माथिल्लो मनाङमा हिजोआज टनेलबिनै बन्दा, काउली, गोलभेँडा, गाँजर, मुला, धनियाँलगायत बेमौसमी तरकारी उत्पादन हुन थालेको बताउनुभयो ।

त्यसै गरी नासोँ गाउँपालिका–८, ताचैका सोलबहादुर गुरुङले पहिला जस्तो हिउँ नपर्ने र गर्मी अलि बढ्न थालेको बताउनुभयो । गर्मी बढ्न थालेपछि फलफूललगायत अन्य बालीको स्वाद फेरिँदै गएको उहाँको भनाइ छ । गुरुङको अनुभवमा आलुको स्वाद पहिलेको जस्तो छैन ।

स्याउलगायत मकै, भटमास, आलु, जौ, उवा, करु, फापर, गहुँ, कोदो, राजमा जस्ता कृषि उपज मनाङका रैथाने बालीनाली हुन् । समयअगावै फलफूल र अन्नबाली पाक्न थालेको अनुभव स्थानीयले गर्न थालेका छन् । रैथाने बाली हराउँदै जाने र गुणस्तर खस्किने चिन्ता बढ्न थालेसँगै कृषि ज्ञान केन्द्रले अनुदानसहितका सचेतना कार्यक्रम प्राथमिकतामा राखेको केन्द्र प्रमुख मदन रेग्मीले बताउनुभयो । जलवायु परिवर्तनको प्रभावले बालीनालीको उत्पादन र गुणस्तरमा प्रभाव पारिरहेको बताउँदै उहाँले भन्नुभयो, “रैथाने बालीको बिउ जोगाउन, परम्परागत खेतीलाई प्रोत्साहन गर्न हामी स्थानीय तहसँग सहकार्यमा जुटेका छौँ ।”