• ९ पुस २०८१, मङ्गलबार

बिमाको भुक्तानी नहुँदा उपचार सेवामा समस्या, तेह्र करोड ऋणमा प्रतिष्ठान

blog

घोराही समाचारदाता 

घोराही, असोज १६ गते । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बिमा उपचारबापतको रकम भुक्तानी नभएको भन्दै उपचार सेवा नै रोक्ने अवस्थामा पुगेको जनाएको छ । उपचारमा लागेको खर्च अनुसारको भुक्तानी नपाउँदा ऋणमा प्रतिष्ठान चलेको भन्दै सेवा रोक्ने अवस्था उत्पन्न भएको छ । 

प्रतिष्ठानले हालसम्म बिमा उपचार सेवाबापतको ११ करोड ८६ लाख छ हजार २८६ र डायलासिस तथा सिकलसेल एनिमियाको उपचारबापतको २९ लाख ७८ हजार १८१ गरी १२ करोड १५ लाख ८४ हजार ४६७ रुपियाँ भुक्तानी नपाएको रजिस्ट्रार श्याम लम्सालले बताउनुभयो । बिमितहरू बढ्दै गएको भन्दै प्रतिष्ठानले रकम भुक्तानी नभए बिमा उपचार सेवा रोकिन सक्ने बताएको छ । 

प्रतिष्ठान नयाँ भएकाले आन्तरिक आम्दानी धेरै नहुने र पाउनुपर्ने रकम भुक्तानी नपाउँदा तिर्नुपर्ने ठाउँबाट औषधी नपाइने भएकाले बिमा उपचार सेवा प्रभावित हुने अवस्था आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारबाट भुक्तानी भए प्रतिष्ठानलाई औषधी उपलब्ध गराउने सप्लायर्सलाई १३ करोड ४२ लाख पाँच हजार ५७८ रुपियाँ तिर्नुपर्ने छ ।”

सरकारले लागेको खर्चभन्दा निकै कम भुक्तानी गरेकाले बक्यौता बढ्दै गएको उहाँले बताउनुभयो । खर्च धेरै हुने तर भुक्तानी कम हुँदा औषधी र औषधीजन्य वस्तु उपलब्ध गराउने व्यवसायीलाई पैसा दिन नसकिएको भन्दै प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले बिमा सेवा सञ्चालन गर्न समस्या उत्पन्न भएको बताउनुभयो । 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सामग्री दिएका व्यवसायीले भुक्तानी नपाउँदा व्यवसाय नै सङ्कटमा परेको गुनासो गरेका छन् । प्रतिष्ठानबाट भुक्तानी नपाउँदा व्यवसाय सङ्कटमा परेको रसायन तथा मेडिकल आपूर्ति सङ्घ दाङका अध्यक्ष बालकुमार घर्तीले बताउनुभयो । प्रतिष्ठानलाई औषधीजन्य सामग्री दिएको करिब छ करोड ११ लाख रुपियाँ पाउनुपर्ने भए पनि विगत एक वर्षदेखि पाउन नसकेको उहाँले बताउनुभयो । 

घर्तीले भन्नुभयो, “बैङ्कबाट ऋण लिएको तिर्न सकेको छैन, प्रतिष्ठानबाट आउनुपर्ने पैसा आउँदैन । यसले गर्दा श्रीमतीको गहना बिक्री गरेर प्रतिष्ठानलाई सामग्री उपलब्ध गराउँदै आएको छु । अब पनि पैसा नआउने हो भने सामग्री उपलब्ध गराउन सक्ने अवस्था छैन ।’’ प्रतिष्ठानलाई औषधी, प्रयोगशालाका सामग्री, एक्सरे सामग्री, सर्जिकल, केमिकल दैनिक आवश्यक पर्ने सामग्री, डायलासिसलगायतका सामग्रीको भुक्तानी हुन नसकेको व्यवसायीको गुनासो छ । 

बिमा बोर्डले भने रकम आउने कार्य जारी रहेको जनाएको छ । बोर्डका जिल्ला संयोजक वसन्त लामिछानेले २०८० साउनदेखि २०८१ असारसम्म छ करोड ८४ लाख ६२ हजार ८८९ रुपियाँ प्रतिष्ठानमा आएको बताउनुभयो । त्यसै गरी २०८१ भदौ १४ गते एक करोड ९९ लाख २३ हजार तीन सय रुपियाँ आएको र दसैँअगाडि थप रकम आउने अवस्था रहेको बताउनुभयो ।