काँक्रेविहार समाचारदाता
सुर्खेत, असोज १५ गते । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णालीमा रणनीतिक अस्पतालसम्बन्धी अवधारणा सार्वजनिक गर्नुभएको छ । सुर्खेतमा आयोजित कर्णाली प्रदेशमा दिगो विकास लक्ष्यको समीक्षा तथा समन्वयात्मक कार्यक्रममा रणनीतिक अस्पताल निर्माणबारे जानकारी दिनुभएको हो ।
उहाँले रणनीतिक अस्पतालहरूले दिगो विकासका स्वास्थ्यका उद्देश्यमा टेवा पुर्याउने भन्दै कर्णालीमा १२ वटा रणनीतिक अस्पताल प्रस्ताव गर्नुभयो । स्वास्थ्यलाई सहज, सुलभ र पहुँचयुक्त बनाउन रणनीतिक अस्पतालको अवधारणा ल्याइएको उहाँको भनाइ छ । भौगोलिक अवस्था, लाभान्वित
जनसङ्ख्या, निर्वाचन क्षेत्र, राजमार्गलक्षित स्थान र बिरामीको चापका आधारमा रणनीतिक अस्पताल क्षेत्र छनोट गरिने जानकारी उहाँले दिनुभयो । सुर्खेतको पञ्चपुरी, दैलेखको दुल्लु र राकमकर्णाली, जाजरकोटको नलगाड, रुकुमको आठबिसकोट, सल्यानको बागचौर र वनगाडमा रणनीतिक अस्पताल प्रस्ताव गरिएको छ ।
त्यसै गरी डोल्पाको मुड्केचुला, कालीकोटको रास्कोट, जुम्लाको कनकासुन्दरी, मुगुको खत्याड र हुम्लाको अदानचुलीलाई रणनीतिक अस्पताल क्षेत्र तोकिने प्रस्तावित योजना मन्त्री भण्डारीले सार्वजनिक गर्नुभयो । यी अस्पतालको स्तरोन्नति, जनशक्ति व्यवस्थापन, क्षमता विकास तथा स्रोत व्यवस्थापन गरी रणनीतिक अस्पताल सञ्चालन गर्ने योजना रहेको उहाँले स्पष्ट पार्नुभयो ।