• ९ पुस २०८१, मङ्गलबार

अवहेलना मुद्दाको सुनुवाइ दसैँपछि

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १६ गते । सर्वोच्च अदालत प्रशासनका तर्फबाट दायर भएको नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अवहेलना मुद्दामा कात्तिक १ गते सुनुवाइ हुने भएको छ । लेनदेनका आधारमा न्यायाधीश सिफारिस गरिएको भन्ने अध्यक्ष घिमिरेको अभिव्यक्ति अवहेलनाजन्य भएको भन्दै उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरे प्रतिवेदक रहेर सोमबार मुद्दा दर्ता भएको थियो । मङ्गलबार पेसीको तयारी भए पनि दुई सातापछि मात्रै सुनुवाइको मिति तोकिएको छ ।

घिमिरेको अभिव्यक्ति अदालतप्रतिको आस्था तथा विश्वासमा प्रतिकूल हुने तथा गैरसंवैधानिक र स्वतन्त्र न्यायालयको मर्मविपरीत भएको मुद्दामा उल्लेख छ । अध्यक्ष घिमिरेलाई अदालतमा झिकाई बयान गराउन माग पनि मुद्दामा गरिएको छ । अदालतले मुद्दामा अध्यक्ष घिमिरेले दिनुभएको अभिव्यक्तिको भिडियो, विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचार तथा न्याय परिषद् सचिवालयबाट जारी भएको विज्ञप्तिलाई प्रमाणका रूपमा पेस गरिएको छ ।  

यसैबिच नेपाल बार एसोसिएसनले अध्यक्ष घिमिरेविरुद्धको मुद्दालाई संस्थागत रूपमा प्रतिरक्षा गर्ने निर्णय गरेको छ । बारका पूर्वअध्यक्ष, पूर्वउपाध्यक्षसहितको सल्लाहकार समिति तथा कार्यसमितिको संयुक्त बैठकले संस्थागत प्रतिरक्षाको निर्णय गरेको हो । अवहेलना मुद्दा दर्तासँगै उपत्यकाका बार एकाइले विरोधका कार्यक्रम पनि जारी राख्ने निर्णय यसअघि नै गरिसकेका छन् ।