चन्द्र पन्दाक
ताप्लेजुङ, असोज १५ गते। चार दिनदेखि अन्धकार रहेको ताप्लेजुङ जिल्लामा विद्युत आपूर्ति सुचारु भएको छ। शनिबार रातिदेखि अवरुद्ध बनेको विद्युत सेवा मङ्गलबार दिउँसो ४ः४० बजेपछिबाट सुचारु भएको हो।
अविरल वर्षासँगै गएको पहिरो र बढीका कारण इलाम खण्डमा काबेली कोरिडोरको टावर पोल (खम्बा) ढलेपछि विद्युत सेवा अवरुद्ध बनेको थियो। विद्युत सेवा अवरुद्ध हुँदा ताप्लेजुङ, पाँचथर इलाम जिल्ला अन्धकारमय भएको थियो।
नेपाल विद्युत प्राधिकरण, ताप्लेजुङ वितरण केन्द्रका अनुसार १३३ केभी पुरानो प्रसारण लाइनलाई मर्मत गरेपश्चात् विद्युत् सेवा सुचारु भएको हो। अहिले तीनवटै जिल्लामा विद्युत आपूर्ति सुचारु भएको पनि वितरण केन्द्रले जनाएको छ। बाढीपहिरोले ढालेका काबेली कोरिडोरका पोल निर्माण गर्न भने कम्तीमा दुई/तीन महिना लाग्ने बताइएको छ।
यता विद्युत आपूर्ति बन्द हुँदा सदरमुकाम फुङ्लिङसहित सिङ्गो प्रभावित बनेको थियो। उज्यालो बत्तीसँगै विद्युतको प्रयोगबाट गर्नुपर्ने सबै सेवाहरू प्रभावित बनेका थिए। बैङ्किङ कारोबार ठप्प भएको थियो। विद्युतका कारण एटिएम, चेक सटही, नगद जम्मा गर्नेसहित बैङ्किङ ठप्प हुँदा उपभोक्ता तथा सेवाग्राहीले निकै सास्ती खेप्नु परेको थियो।
जिल्लामा सञ्चालित कलकारखाना, उद्योग धन्दा प्रभावित बनेका थिए भने सरकारी तथा गैरसरकारी कार्यालयका सेवा प्रवाहमा समेत समस्या आएको थियो। अब विद्युत आपूर्ति सुचारु भएपछि जिल्लाको जनजीवन सामान्य बन्ने छ।
.jpg) 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                