• १८ असोज २०८१, शुक्रबार

‘दसैँ लाग्यो, बजारमा खसी-बोकाको म्याँम्याँ–मुमु सुनिएन’

blog

काठमाडौँ, असोज १७ गते । दसैँ नजिकिएसँगै बजारमा मासुजन्य उत्पादनको माग ह्वात्तै बढ्ने गर्दछ । दसैँमा करिब दुई लाखको हाराहारीमा विभिन्न जिल्लाका खसी, बोका काठमाडौँ उपत्यका भित्र्याइने गरिएको छ । विगत वर्षमा असोज र कात्तिक महिनामा मात्र ५० हजार खसी, बोका भित्रिने गरेका थिए ।

नेपालकै उत्पादन पर्याप्त

पशु सेवा विभागका सूचना अधिकारी डा. सुधीरकुमार सिंहका अनुसार अहिले छिमेकी मुलुकबाट खसी, बोका लगायत मासुजन्य उत्पादन आयात गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । डा. सिंहले भन्नुभयो, “काठमाडौँ उपत्यकामा करिब दुई लाखको हाराहारीमा खसी, बोकाहरू ल्याइन्छन् । लगभग ५० हजार जति यही असोज महिनामा ल्याइन्छन् । 

उहाँले खसी, बोका, कुखुरा, च्याङ्ग्राजस्ता मासुजन्य उत्पादनमा नेपाल आत्मनिर्भर बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “पशुजन्य पदार्थमा आत्मनिर्भर छौँ । खसी, बोका, कुखुरा, माछा हाम्रै कृषकहरूबाट आउँछ । केही आठ, नौसय च्याङ्ग्रा चाहिँ उत्तरी नाकाबाट पनि मगाउने गरिन्छ ।”

खाद्यले १५ सय खसी-बोका ल्याउने

यस्तै, खाद्य व्यवस्था तथा व्यापार लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार यो वर्ष पनि विगतमा जस्तै विभिन्न जिल्लाबाट खसी, बोका र च्याङ्ग्रा ल्याएर बिक्री गर्ने योजना रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विगतका वर्षहरूमाजस्तै खसी, बोका, च्याङ्ग्रा ल्याएर बिक्री गर्ने योजना छ । यसका लागि जिल्ला कार्यालयमा पत्राचार पनि गरिसकेका छौँ । हेटौँडा, तुल्सीपुर, नवलपुर र च्याङ्ग्राका लागि मुस्ताङका चार वटा ठाउँहरूबाट सङ्कलन गर्ने तयारी भएको छ ।”

दसैँको मुखमा विपद् आएकोले हुन सक्छ, खसी, बोका, बाख्राको त आवाज नै सुनेको छैन ।

उहाँले यो वर्ष एक हजार पाँचसय खसी, बोका र तीनसय च्याङ्ग्रा नेपाली कृषकबाट सङ्कलन गर्ने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले नेपाली किसानको उत्पादन प्रत्यक्ष खरिद गर्ने हो । कृषि सहकारी, सामूहिक रूपमा पशुपालन गर्ने कृषकहरू हुन्छन् । जतिबेला धेरै माग हुन्छ त्यतिबेला खाद्यको उपस्थिति रह्यो भने एउटा निश्चित दरको पेरिफेरिमा निजी क्षेत्रको दर रहन्छ भन्ने मान्यता हो ।” 

बजारमा प्रतिकिलो १४ सय

माछा मासु व्यवसायी सङ्घका प्रथम उपाध्यक्ष वीरेन्द्र शाहीले विभिन्न नाकाबाट सामान्यतया दैनिक १२ देखि १५ सय खसी, बोका उपत्यका भित्रने गरेकोमा दसैँको बेलामा दैनिक २५ सयदेखि तीन हजार भित्रने जानकारी दिनुभयो । 

शाहीले भन्नुभयो, “खसी, बोका जिउँदो किन्दा प्रतिकिलो ६५० देखि ७०० रुपियाँ पर्छ भने बजारमा प्रतिकिलो १३ सय ५० देखि १४ सय रुपियाँ पर्न जान्छ ।” यस्तै, उहाँले राँगा सामान्यतया प्रतिदिन पाँचसयको हाराहारीमा उपभोग हुने गरेकोमा दसैँमा प्रतिदिन १५ सयदेखि दुई हजार उपभोग हुने गर्दछ ।

दसैँ लाग्यो म्याँम्याँ, मुमु सुनिएन

यसैगरी, माछा मासु व्यवसायी सङ्घ, मकवानपुरका महासचिव नारायण राजथला दसैँ नजिकिए पनि विगतको तुलनामा बजारमा चहलपहल सुरु नभएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दसैँको मुखमा विपद् आएकोले हुन सक्छ, खसी, बोका, बाख्राको त आवाज नै सुनेको छैन । नभए, गाडिभरी टन्नै ल्याइरहेको हुन्थ्यो, मान्छेले घिस्राएर ल्याइरहेको हुन्थ्यो । म्याँम्याँ र मुमु कराइरहेको हुन्थ्यो । अहिले बजारमा यो देख्न पाइएकै छैन ।”

एकीकृत मासु बजारका व्यवसायी राजथलाले सामान्यतया दैनिक दुईदेखि तीनसय खसी, बोका बजारमा खपत हुँदैआएको बताउनुभयो ।

मकवानपुरको हेटौँडा बजार, बसपार्कस्थित एकीकृत मासु बजारका व्यवसायी राजथलाले सामान्यतया दैनिक दुईदेखि तीनसय खसी, बोका बजारमा खपत हुँदैआएको बताउनुभयो । दसैँको समयमा उक्त बजारमा मात्र सातदेखि आठसय खसी, बोका खपत हुने गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “औसतमा ६५० देखि ७५० सम्म जिउँदो खसी, बोका हामी लिन्छौँ । जस्तो बाख्रा १५ देखि १७ किलोको छ भने हेरेर मोलमोलाइ हुन्छ । बेच्दा प्रतिकिलो हजार रुपियाँ जति पर्न जान्छ ।”

यो पटक कहिले ठुलो बाढी त कहिले खडेरीका कारण उत्पादन नहुने तथा आर्थिक सङ्कट भएकाले प्राय कृषकले पहिले नै आफ्ना उत्पादन बेचिसकेको पाइएको उहाँले बताउनुभयो । कतिपयले भने दसैँको खर्च जुटाउन भनेर राखेका उत्पादन अब घटस्थापनादेखि बजारमा ल्याउनेक्रम बढ्न सक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मैले बजारमा चौपाया एउटै देखेको छैन । हेरौँ घटस्थापनादेखि चहलपहल बढ्ला कि ।”

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।