• १५ असोज २०८१, मङ्गलबार

बागमतीमा १२ भन्दा धेरै स्वास्थ्य संस्थामा क्षति

blog

राममणि दाहाल

हेटौँडा, असोज १५ गते । गत बिहीबारदेखि आएको अविरल वर्षापछिको बाढी पहिरोका कारण स्वास्थ्य संस्थाहरूमा क्षति पुग्नुका साथै स्वास्थ्य सेवा प्रवाह प्रभावित बनेको छ ।

बाढी पहिरो र डुबानबाट बागमती प्रदेशका विभिन्न जिल्लाका एक दर्जन स्वास्थ्य संस्थामा क्षति पुग्नुका साथै स्वास्थ्य सेवा प्रवाह प्रभावित बनेको छ । 

सबैभन्दा बढी भक्तपुर जिल्लाका स्वास्थ्यमा स्वास्थ्य संस्थामा अविरल वर्षापछि डुबानमा परेर क्षति र सेवा प्रवाह प्रभावित भएको बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भक्तपुर नगरपालिका वडा नं. ७ मा रहेको सिद्धि मेमोरियल बाल अस्पतालको तल्लो तला डुबानमा परी प्रयोगशाला र आतपकालीन सेवा प्रभावित बनेको छ ।  ।

मन्त्रालयका अनुसार भक्तपुर नगरपालिका १ मा रहेको डा. इवामुरा अस्पताल र बिपी आईईएनटी तल्लो तला डुबानमा परेका कारण सेवा प्रवाह प्रभावित भएको छ ।

साथै भक्तपुर नगरपालिका ३ को आरोग्य मल्टी स्पेसियालिटी अस्पताल र ललितपुर महानगरपालिका १८ को मेडिसिटी अस्पतालको तल्लो तला डुबानमा परेका कारण सेवा सेवा प्रभावित भएको छ ।

सिन्धुपाल्चोकको चौतारा नगरपालिका ५ स्थित सिन्धुपाल्चोक प्रादेशिक अस्पतालको नयाँ भवन पछाडि पहिरो गए पनि भवनमा क्षति नपुगेको मन्त्रालयको भनाइ छ । 

उता दोलखा जिल्लाको बिगु गाउँपालिका ५ स्थित स्वास्थ्य चौकीको पहिरोका कारण अति जोखिममा परेको मन्त्रालयका सूचना अधिकारी रविन भुसालले जानकारी दिनुभयो । 

अविरल वर्षाका कारण भरतपुर महानगरपालिका ३ को नगरवन आधारभूत स्वास्थ्य केन्द्रको तल्लो तला डुबान र माडी नगरपालिका ३ को आयुर्वेद औषधालय डुबानमा परेको छ ।

उता काभ्रेपलान्चोकको चौंरीदेउराली गाउँपालिका ८ को भोलुङ सामुदायिक स्वास्थ्य एकाइ पूर्ण रूपमा क्षति भएको छ भने दोलखाको तामाकोशी गाउँपालिका ५ किर्नेटार सामुदायिक क्लिनिकको भवन र स्वास्थ्य सामग्री बगाएको छ ।

यस्तै दोलखाकै मेलुङ गाउँपालिका ६ को डाँडा खर्क स्वास्थ्य चौकी रुख ढलेर पानी ट्याङ्की र सोलार प्यानलमा क्षति पुगेको मन्त्रालयको तथ्याङ्क छ ।