• २७ असोज २०८१, आइतबार

अन्तिम सत्य (कथा)

blog

घरको मूलढोकाको दाहिनेपट्टि रोपिएको तुलसीको बोटलाई हावाले अघिदेखि हल्लाइरहेको छ । स्वाभाविक हो, बलियोले दुर्बललाई हल्लाउँछ, धकेल्छ र निमोठ्न सक्छ । यो सामाजिक सत्य हो । घरको देब्रेपट्टि गमलामा रोपिएको गुलाफ आज फुलेको छ, रातो गुलाफ सुन्दर देखिएको छ । डाँठमा काँढा भए पनि त्यो रातो छ, राम्रो छ, सबैका आँखा त्यतातिर जान्छन् । गुलाफ प्रेमिल फूल हो । सुन्दर वस्तु पनि कहिलेकाहीँ अभिशाप बन्न सक्छ । गुलाफको काँढाले कोपरेर मेरो हात आज रगताम्य भएको छ । त्यसैले हेर्दैमा सुन्दर देखिने हरेक वस्तुलाई म प्रेमिल नजरले हेर्न सक्तिनँ, गुलाफको बोटसँग सधैँ म सतर्क रहन्छु । काँढा उसको नकारात्मक पक्ष हो । गुलाफको रातो फूलमा अनेक पत्र छन् । तिनमा गुलाफको आत्मकथा हुन सक्छ । सायद त्यही आत्मकथा कसैले पढ्न सक्यो भने फूलको यथार्थ जीवन थाहा हुनेछ ।

बाहिर चर्को घाम लागिरहेछ । जाडो सकिएर गर्मी सुरु भएको धेरै भयो, पानी पर्न नसकेर बाहिर धुलो छ, धमिलो छ, एअर पल्युसन छ । आज मेरो बालसखा हरिले फोन ग-यो । ऊ आफ्नो ससुराली लोकन्थलीमा बसेको रहेछ । उसले मसँग भेट्ने इच्छा ग¥यो । मलाई आफू बसेको ठाउँमा भेट्न आउ भन्छ कि भन्ने डर थियो तर उसले त्यसो भनेन । उसले, म तिमीसँग भेट्न आउँछु भन्यो । उसले मलाई सजिलो पारिदियो, म खुसी भएँ । साथी भेट्न म इच्छुक थिएँ तर किन मैले, “म तिमीलाई भेट्न आउँछु भन्न सकिन !” मेरो आफ्नो स्वार्थ थियो, साथी भेट्न म लोकन्थलीसम्म जान सक्तिनँ अथवा लोकन्थली मेरो घरबाट धेरै टाढा भएकाले बाटोको थकानले म शिथिल हुनेछु । मैले आफ्नो स्वार्थलाई प्राथमिकतामा राखेँ । आखिर ऊ आएन । उसले पनि आफ्नो स्वार्थलाई प्राथमिकतामा राखेछ । सत्य त्यही हो, हरेक मानिस आफ्नो स्वार्थलाई प्राथमिकतामा राख्छ । स्वार्थ मिलेपछि मात्र मानिस नजिक हुन्छ । मानवीय स्वार्थ पनि अन्तिम सत्य नै हो । मलाई लाग्छ सबैले आफ्नो स्वार्थलाई प्राथमिकतामा राख्छन् ।

आज मीनाको देहान्त भयो, यस घटनालाई स्वर्गवास अथवा वैकुण्ठवास जे भने पनि मान्छे जन्मनु र मर्नु सत्य घटना हो तर मीनाले भोगेका दिनहरू र उसले अरूलाई भोग्न बाध्य पारेका दिनहरू सबैलाई सत्य नलाग्न सक्छन् । कुनै घटना कसैका निम्ति सत्य हुन सक्छ र कसैका निम्ति अपत्यारिलो पनि हुन सक्छ । मीना एघार वर्षको उमेरमा विधवा भई । यौवनमा उसले अर्को विवाह गर्न चाहिन वा जुरेन वा विवाह गर्ने उपयुक्त युवक पाउन सकिनँ । उसले जीवनभर आफ्नो माइतघर बस्नुप¥यो । परिवारका सदस्यहरूले उसको बालविधवापनलाई सद्भावका दृष्टिले हेरे, सहानुभूति राखे । उसलाई सबैले माया गरे । सबैको सद्भाव, सहानुभूति र मायालाई उसले अरूलाई काबुमा राख्ने आफ्नो पुँजीगत शक्तिका रूपमा लिई ।

यो झन्डै सात दशक अगाडिको कथा हो । माइती घरमा उसको उमेर परिपक्व भयो । भाइतघर, इष्टमित्र, नातेदार सबैले उसलाई विधवाभन्दा अर्को कुनै रूपमा चिनेन । जब ऊ जवान हुँदै गई सामाजिक चेतना, चिन्तन, प्रचलन, थितिरीति, दृष्टिकोण सबैले उसको बैँसलाई होइन, उसको विधवापनलाई मात्र चिन्यो । समाजको कठोर नियम उसको मनमा अटल भएर बसेको थियो, गुलाफको काँढा बनेको थियो । सत्य सत्य नै हो । पृथ्वी सत्य हो, जल र वायु पनि सत्य हो । सूर्य र चन्द्र पनि सत्य हुन् । मीनाको बैँस पनि सत्य हो । एकातिर उसको विधवापन र अर्कोतिर उसले अनुसरण गरेको सम्प्रदाय वा धर्मको कट्टर कालो बादलले बैँस जस्तो सत्यलाई पनि ढाक्यो र कठोर धार्मिक बन्धनले उसलाई कस्यो । एकातिर ऊ एउटा धार्मिक सम्प्रदायको कट्टर अनुयायी भई भने अर्कातिर माइतीघरका सबै सदस्यहरूलाई आफू अनुकूल नियन्त्रणमा राख्ने मानसिक विकृति उसभित्र विकसित भयो । जब उसले भने अनुसार सबै कुरा हुन सकेन, उसले आफूलाई नियन्त्रणमा राख्न सकिनँ र ऊ मानसिक रोगी भई ।

मानिस त्यसबेला मानसिक रोगी हुन्छ, जब आफूले बिराएको बाटोले आफैँलाई विक्षिप्त बनाउँछ । जब आफ्नो नियन्त्रणात्मक स्वभावले ऊ आफैँ विक्षिप्त हुन थाली, मानसिक रूपमा ऊ झन् अस्वाभाविक हुन पुगी । ऊ अनियन्त्रित हुन थालेपछि स्वाभाविक रूपमा घर अशान्त हुन थाल्यो । घरमा क्याक्टस् झाँगियो । अनेक उपचारपछि ऊ सामान्य अवस्थामा फर्के पनि उसको प्रवृत्तिमा कुनै परिवर्तन आएन । मानिसहरू ऊसँग सन्त्रस्त हुन थाले । कोही पनि ऊसँग जोरी खोज्न, झगडा गर्न वा दुस्मनी साँध्न चाहँदैनथे । ऊसँग झगडा गर्नु भनेको उसका अनेकौँ श्राप आफूले शिरोपर गर्नु हो । उसले भनेका कुरा परिवारका सदस्यहरूले नमाने ऊ अशान्त हुन खोज्थी । उसलाई सामान्य अवस्थामा राखिराख्न पनि सबैले उसैले भनेबमोजिम गर्न थाले । ऊ बाँचुन्जेल घर सधैँ अशान्त हुन पुग्यो । 

आज उसले अन्तिम सास लिई । उसको अस्तित्व यस भौतिक संसारमा रहेन । उसका भाइ, भदा र आफन्तले उसको मृत शरीर बोकेर घर बाहिर निकाले । लगाइराखेका कपडा उसको लासबाट निकालियो र लासलाई सेतो कपडाले ढाकियो । आफ्नै सम्प्रदायका बाह्मणले लासलाई अनेक विधिविधानबाट चन्दन, फूलले पूजा गरे । फूलका मालाले मृत शरीर ढाकियो । उसलाई शव वाहनमा राखियो र शङ्ख फुक्तै, लावा छर्दै लास घाटतर्फ प्रस्थान गरियो । घाटमा उसलाई ब्रह्मनालमा राखियो । उसको निम्ति दाउराको विशेष संरचना अर्थात् चिता तयार पारिएको थियो । उत्तर शिर पारेर चितामाथि उसलाई उत्तानो सुताइयो । निःसन्तान मीनाको मुखमा उसकै सम्प्रदायका ब्राह्मणले दागबत्ती दिए । चितामाथि घिउ राखी परालको मुठो झोसेर उसको लासमा आगो झोसियो । आगोको लप्कोले लास वरिपरिबाट बे¥यो ।  उसको मृत शरीर ह्वारह्वारी बल्न थाल्यो । त्यससँगै उसका सारा संंस्कार बले, दुःख बले, रीसराग, पीडा, व्रmोध, खुसी सबै ह्वारह्वार्ती बल्न लागे । मलामीहरूले लास ह्वारह्वार्ती बलिरहेको ट्वाल्ल परेर हेरिरहे । केही बेरपछि उसको अवयव समाप्त भयो, खरानी भयो । अन्त्यमा एउटा सानो मासुको डल्लो मात्र बाँकी रह्यो । त्यसलाई पनि लाठीले पिटपाट गरेर जलाइयो र अवशेष नदीमा विसर्जन गरियोे । उसको जीवन सम्पूर्णमा वायुमण्डलमा विलीन भयो । 

अचम्म उसको जीवनको अन्त्य हुने बित्तिकै उसका सारा दोषहरू मानिसका मनभित्रबाट हराएर गए । उसका असल व्यवहार र स्वभाव मात्र अगाडि आए । सबैले उसको गुणगान गर्न थाले । ऊ कहिल्यै एक्लै खान्नथी, मिठो मसिनो बनाउँथी, तर ऊ आफू अरू सबैलाई बाँडेर मात्र खान्थी । उसका सम्प्रदायभित्रका मानिसलाई मात्र होइन, उसले भनेको मान्ने हरेक मानिसलाई ऊ विशेष माया गर्थी, प्रशंसा गर्थी । वास्तवमा उसको मर्ने बेला भएकै थिएन, ऊ छिट्टै मरी । एक हप्ता अगाडिसम्म पनि ऊ हिँडिरहेकी थिई, मानिससँग बोलिरहेकी थिई । ऊ खासै कुनै बिमारी पनि भएकी थिइनँ ।

जीवन अनेकौँ अनुभूतिहरूको शृङ्खला हो, सम्पूर्णता होइन । कति अनुभवहरू सँगाल्न नपाउँदै मान्छे मर्छ । मान्छे मर्नु भनेको उसको जीवनको भोगाइ अन्त्य हुनु हो अर्थात् उसको सम्पूर्ण सिर्जनशीलताको मृत्यु हुनु हो । त्यसैले मान्छेको जीवनभरको भोगाइ भनेको समाज र आफन्तहरूका निम्ति उसका सकारात्मक र नकारात्मक कामहरूसँग सम्बन्धित व्रिmयाशीलता हो र यो उसको जीवनभरको भोगाइसँग सम्बन्धित हुन्छ । जब उसको मृत्यु हुन्छ, उसको भोगाइको शृङ्खला र सिर्जनशीलताको पनि अन्त्य हुन्छ । मीनाको अस्तित्व समाप्त भयो तर ऊसँग सरोकार राख्ने मानिसका मनमा उसलाई बिर्सन धेरै समय लाग्ने छ । आखिर मृत्यु आफ्नो समयमा अवश्यमेव आउने नै रहेछ र मानिसको अस्तित्व एक दिन समाप्त हुने नै रहेछ । मृत्यु अन्तिम सत्य हो । मधुपर्क