• १३ असोज २०८१, आइतबार

खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव फेला

blog

बिष्णुप्रसाद पोखरेल

दमक, असोज १३ गते । अविरल वर्षासँगै झापाको कचनकवलस्थित जमुना खोलाले बगाएर बेपत्ता भएकी एक बालिकाको शव दुई दिनपछि फेला परेको छ । कचनकवलकी १५ वर्षीया बालिका नेहारिका राजवंशी बगाएको ठाउँबाट २ किलोमिटर टाढा मृत अवस्थामा फेला परेकी गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो ।

कचनकवल १ की राजवंशीलाई साइकल सहित खोलाले बगाएको थियो । आज बिहान साइकल फेला परेको थियो । खोलामा पानीको सतह घटेपछि धानबालीमा शव भेटिएको उपाध्यक्ष भट्टराईले जानकारी दिनुभयो । यो नेपाल र भारत सीमा नजिक पर्दछ । सीमापारि भारतमा आफन्त सानिमाको घरमा पुगेर राजवंशी आफ्नो घर फर्कने क्रममा खोलाले बगाएको थियो।

झापामा शुक्रबार ३ जनालाई खोलाले बगाएर बेपत्ता बनाएकोमा यसअघि एक पुरुषको पनि शव फेला परेको थियो । अब एकजना बेपत्ता रहनुभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गौरीगन्जका केमालाल ताजपुरीयाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कमल गाउँपालिका १ का मुसे भनिने ३५ वर्षीया टिकाराम चौधरी बेपत्ता छन् । उहाँको खोजी कार्य तीव्र बनाइएको प्रहरीको भनाइ छ । झापामा वर्षा रोकिएपछि खोलामा पानीको सतह कम हुँदै गएपछि जनजीवन सामान्य बन्दै गएको छ ।