• १३ असोज २०८१, आइतबार

अध्यक्ष प्रचण्डद्वारा चणिकलाल तामाङलाई सम्मान

blog

विपदमा उद्धार गर्न पुग्नुभएका चणिकलाल तामाङसँग पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’।

काठमाडौँ, असोज १३ गते।  पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खु खोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गर्नुभएको छ। उहाँले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गर्नुभएको हो। 

तामाङले हिजो शनिबार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उहाँकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाउनुभएको थियो। 

टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरू टहरासँगै बगेका थिए। 

खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्‍याएपछि तामाङले उर्लँदो भेलमा हाम फालेर दुई जनाको उद्धार गर्नुभएको थियो। उद्धार गरिएका दुवै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ। 

सँगै बगेका राजुका भाइ २२ वर्षीय राज आफै पौडेल उत्रनुभएको थियो भने राजकी छोरी चार वर्षीया शेर्तु साहको अवस्था अज्ञात रहेको छ।

अध्यक्ष प्रचण्डले दुई जनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद दिनुभयो। सङ्कटको बेला नै बहादुरहरूको जन्म हुने भन्दै उहाँले तामाङलाई ‘साहसी युवा’को रूपमा सम्मान गरिएको बताउनुभयो। 

काभ्रेको तेमाल गाउँपालिका-९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हुनुहुन्छ। उहाँका दाइ तत्कालीन जनयुक्त सेनाका कमाण्डर चन्द्र तामाङले ‘शुक्र’को जनयुद्धका क्रममा सर्लाहीमा सहादत प्राप्त गर्नुभएको थियो।

सो क्रममा साहसी युवा तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकोमा खुसी लागेको बताउनुभयो।