• १३ असोज २०८१, आइतबार

अष्ट्रिया मतदान : दक्षिणपन्थीले कन्जरभेटिभलाई पराजित गर्न सक्ने

blog

भियना, असोज १३ गते । अस्ट्रियामा आइतबार बिहान ७ बजेदेखि आम निर्वाचनका लागि मतदान सुरू भएको छ । अष्ट्रियामा ऐतिहासिक जितका लागि अति दक्षिणपन्थी समूहले कन्जरभेटिभलाई पराजित गर्न सक्ने अनुमानबिच आम निर्वाचनमा आइतबार मतदान सुरु गरेका छन् ।

चुनाव पूर्वका धेरै जनमत सर्वेक्षणले धेरै पटक सरकारमा रहेको छ तर कहिल्यै पनि राष्ट्रिय मतमा शीर्ष स्थान हासिल गर्न नसकेको फ्रिडम पार्टी (एफपीओई)लाई शीर्ष स्थान हासिल गर्ने देखाएका छन् । अहिले पनि फ्रिडम पार्टीले निर्वाचनमा बहुमत प्राप्त गरे पनि सरकार गठनका लागि आवश्यक सङ्ख्या पुग्नेमा आशङ्का व्यक्त गरिएको छ ।

सन् २०२१ मा तीक्ष्ण जिब्रो भएको हर्बर्ट किकलले पार्टीको बागडोर सम्हालेपछि युरोपका अन्य ठाउँका अति दक्षिणपन्थी पार्टीहरूको जस्तै आप्रवासन, मुद्रास्फीति र कोभिड प्रतिबन्धहरूमाथि मतदाताहरूको आक्रोशका कारण यसको लोकप्रियता बढेको छ ।

“म मेरो हृदयको तलबाट किकललाई मतदान गर्न चाहन्छु । उनले आप्रवासनको समस्या समाधान गर्न आवश्यक छ,” ६९ वर्षीया डाक्टर एन्जेला एस्र्टिकले शुक्रबार राति मध्य भियनामा एफपीओईको अन्तिम र्‍यालीमा एएफपीसँग भन्नुभयो ।

“एफपिओईको छविलाई संस्थापन विरोधी पार्टीको रूपमा बलियो बनाउँदै ५५ वर्षीय किकलले ‘साहसी भई केही नयाँ प्रयास गर्नुहोस्,” जस्ता नाराहरूमा अभियान चलाएका छन् । जनमत सर्वेक्षणमा पार्टीलाई २७ प्रतिशत मत प्राप्त भएको छ ।

सत्तारुढ पिपुल्स पार्टी (ओइभीपी) पछि परेको छ, तर यसका नेता ५१ वर्षीय चान्सलर कार्ल नेहामरले हालैका हप्तामा यो अन्तर कम गर्न सफल भएका छन् ।

‘अराजकताको साटो स्थिरता’ को वाचा गर्दै ओईभीपीले पछिल्लो सर्वेक्षणमा २५ प्रतिशत समर्थन प्राप्त गरेको छ । स्थानीय समयअनुसार बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो भने साँझ ७ बजे बन्द हुनेछ । पोस्टल भोटिङ र पहिले बन्द हुने स्टेसनबाट हुने मतगणनामा आधारित अनुमानहरू त्यसको केही समयपछि घोषणा हुनेछन् । अस्ट्रियाका ९० लाख बासिन्दामध्ये ६३ लाखभन्दा बढीले मतदान गर्नका लागि योग्य मानिएका छन् । रासस/एएफपी