• ११ मंसिर २०८१, मङ्गलबार

राजमार्गका होटलमा कडाइ गर्दै मन्त्रालय

blog

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी ।

काठमाडौँ, असोज १३ गते । वर्षौँदेखिको सडकमा यात्रा गर्ने यात्रुहरूको राजमार्गका होटलको अचाक्लीका विषयमा गरिँदै आएको गुनासोमा यस पटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विशेष चासो देखाएको छ ।

सो मन्त्रालयका मन्त्री दामोदर भण्डारीले देशैभरका मुख्य राजमार्गका होटलबाट यात्रुले निकै सास्ती खेपिरहेको गुनासो विगतदेखिको नै भए पनि पछिल्लो समय झनै बढेको बताउनुभयो । उहाँले यसअघि नै होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई सचेत गराइ सक्नुभएको छ । 

“मुख्य राजमार्गमा होटलहरुले यात्रुमाथि लुट मच्चाएका छन्, विगतमा कसैले कारबाही प्रक्रिया अगाडि नबढाए पनि म यसमा  ‘एक्सन’ लिने तयारीमा छु, होटलहरुको मनपरी छ, सार्वजनिक यातायात सञ्चालकको पनि यसमा मिलेमतो प्रस्टै देखिन्छ । यो कुरा सह्य हुँदैन, एकान्तमा वा जङ्गलमा होटल खोलेर यात्रु ठग्ने कुरा पाच्य छैन । मन्त्रालय कारबाहीका लागि अगाडि बढ्नुपर्ने अवस्था आइसक्यो” मन्त्री भण्डारीले भन्नुभयो । 

शुक्रबार मन्त्रालयमा आयोजित होटल तथा रेष्टुरेन्ट व्यवसायीसँगको एक कार्यक्रममा उहाँले अब राजमार्गमा होटल चलाउने भए प्रस्ट रूपमा सबैले देख्ने गरेर मूल्य सूचि राख्नुपर्ने बताउनुभयो । मूल्य सूचि नराखेर यात्रु ठग्ने मनसाय भए उहाँले त्यस्ता होटललाई बन्द गरिने चेतावनी दिनुभयो । 

मन्त्री भण्डारीले भन्नुभयो, “खाना तथा नास्ता खाने ठाउँमा राजमार्गका होटेलवाला र यातायात सञ्चालकले चर्को मूल्य असुलेर नराम्रो व्यवहार गर्ने गरेको व्यापक जनगुनासो मन्त्रालयमा आएको छ, गुनासोकै आधारमा हामी कारबाही प्रक्रिया अगाडि बढाउँछौँ ।”

वाणिज्य मन्त्रालय र मातहतका निकायमा राजमार्गका होटलमा यातायात सञ्चालक तथा होटलहरुको मिलेमतोमा यात्रुमाथि लुट मच्चाएको भन्ने व्यापक जनगुनासो बढेकाले छिट्टै सो मन्त्रालयको अगुवाइमा समस्या समाधानका लागि सरोकारवाला मन्त्रालयका प्रतिनिधि सम्मिलित बैठक राखिने मन्त्री भण्डारीका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार वाणिज्य मन्त्रालयसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कृषि तथा पशुपन्छी मन्त्रालयका प्रतिनिधिको उपस्थितमा छिट्टै बैठक आव्हान गरिएको छ । रासस