• १३ असोज २०८१, आइतबार

११ ब्राण्डका पानीमा दिशामा पाइने सूक्ष्मजीव, पिउन अयोग्य पानी बिक्रीमा रोक

blog

तस्बिर : काठमाडौँ महानगरपालिका

काठमाडौँ, असोज १३ गते । काठमाडौँ महानगरपालिकाले विभिन्न ११ ब्राण्डका पानीमा फिकल कोलिफर्म भेट्टाएपछि हरेकको विक्री वितरणमा रोक लगाएको छ ।बिक्रीमा रोक लगाइएका हरेकलाई दुई लाख रुपियाँ जरिवाना गर्ने निर्णय भएको महानगरपालिकाले जनाएको छ ।  

भदौ १२ गतेदेखि २८ गतेका बिचका विभिन्न दिनमा विभिन्न स्थानहरूबाट २० वटा पानीको नमुना लिइएको थियो । यसबाहेक उपभोक्ताले गुनासो पछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षण गर्दा २१ वटा नमुनामध्ये ११ वटामा फिकल कोलिफर्म देखिएको हो । 

प्रति  एकसय मिलिमिटर नमुना परीक्षणमा कोलोनी फर्मिङ् युनिट (सिएफयु) मापदण्ड विपरीत देखिएको हो । कोलोनी फर्मिङ् युनिट (सिएफयु) सूक्ष्मजीवको अवस्था हेर्न प्रयोग गरिने युनिट हो । 

खाद्य पदार्थको अनिवार्य गुणस्तर मापदण्डअनुसार प्रशोधित पिउने पानीमा कोलिफर्म शून्य हुनुपर्छ । फिकल कोलिफर्म दिशामा पाइन्छ । दिशामा पाइने सूक्ष्मजीव पानीमा भेटिनुलाई पिउन अयोग्य मानिन्छ । 

जरिवाना र बिक्री वितरणमा रोक लगाइएका पानीका ब्राण्डहरुमा ब्याच नं. १३ को फ्रेस ड्रप पानीमा फिकल कोलिफर्मको मान २३ कोलोनी फर्मिङ् युनिट (सिएफयु) देखियो । उपभोक्ताबाट गुनासो आएपछि भदौ १८ गते यसको नमुना लिइएको थियो । पञ्चरत्न ग्रुपले उत्पादन गर्ने यो पानी टोखा नगरपालिका वडा नं. ८ बाट उत्पादन भइरहेको छ ।  

भदौ १२ गते नमुना लिइएका पानीमध्ये ब्याच नं. १२ को अक्वा पिसमा ८० र अक्वा टोखाको पानीमा फिकल कोलिफर्मको मान ३० कोलोनी फर्मिङ् युनिट (सिएफयु) देखियो । 

अक्वा पिस टोखा ८ मा रहेको पिस स्प्रिङ वाटरले उत्पादन गरेको पानी हो भने अक्वा टोखा, टोखाकै अक्वा एस. एन. एस. वेभरेजले उत्पादन गरेको पानी हो । ब्याच नं. ६ को कोलभोतेश्वर ब्राण्डको भदौ २४ गते नमुना लिइएको हो । यसमा फिकल कोलिफर्मको मान ११६ कोलोनी फर्मिङ् युनिट (सिएफयु) छ । यो पानी कागेश्वरी मनोहरामा सञ्चालित उत्तरवाहिनी फुड एण्ड वेभरेजले उत्पादन गरेको हो । 

भदौ २४ गते नै नमुना लिइएका पानीहरूमा गोकर्णेश्वरमा सञ्चालित अक्वा सुन्दरी उद्योगले उत्पादन गर्ने अक्वा डिवी, कागेश्वरी मनोहरा, वडा नं. ६ मा रहेको स्नो क्युव ड्रिङ्किङ् वाटरले उत्पादन गर्ने अकुवा, गोकर्णेश्वरमा रहेको स्तुपा इष्डष्ट्रीले उत्पादन गरेको क्युब प्रोसेस ड्रिङिकङ् वाटर र गोकर्णेश्वरमा सञ्चालित मुन लाइट स्प्रिङ मिनिरल वाटरले उत्पादन गरेको अक्वा माइल्ड नामको पिउने पानीमा फिकल कोलिफर्म भेटिएको थियो । 

अक्वा डिवीमा ५, अकुवामा १७, ब्याच नं.२०० को क्युव प्रोसेस ड्रिङ्किङ् वाटरमा ३ सयभन्दा धेरै र ब्याच नं. ४२ को अक्वा माइल्ड ब्राण्डको पानीमा २१ कोलोनी फर्मिङ् युनिट (सिएफयु) भेटिएको छ । 

भदौ २८ गते सङ्कलन गरिएका नमुनामध्ये अक्वा कपन र अक्वा गौरशंकरमा कोलिफर्म भेटियो । अक्वा कपनमा फिकल कोलिफर्म मान ४ र अक्वा गौरशंकरमा ३ सयभन्दा धेरै कोलोनी फर्मिङ् युनिट (सिएफयु) देखिएको छ । 

अक्वा कपन एम. के. मिनिरल वाटर उद्योगले बुढानीलकण्ठ नगरपालिकाको कपन क्षेत्रबाट उत्पादन गर्छ । अक्वा गौरी शङ्कर, गोकर्णेश्वरमा रहेको कोशी मिनिरल उद्योगले उत्पादन गर्छ ।  

यस्तै कोलिफर्म भेटिएको पानीको नमुना सरकारी निकायका प्रयोगशालाबाट प्राविधिक परीक्षण गरेर प्रतिवेदन बुझाउन भनिएको छ । यसरी बुझाइएको प्रतिवेदनमा फिकल कोलिफर्म शून्य देखिएपछि बिक्री वितरण गर्न सकिने पत्रमा उल्लेख छ ।