• १३ असोज २०८१, आइतबार

माछा मार्न गएका बालकको पोखरीमा डुबेर मृत्यु

blog

पोखरीमा डुबेका बालकको खोजीमा जुटेको सशस्त्र प्रहरीको गोताखोर टोली । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असोज १३ गते । बाँके जिल्लाको जानकी गाउँपालिका-३ इन्द्रपुरका एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । जानकी गाउँपालिका ३ इन्द्रपुरस्थित बसिर अलीका ९ वर्षीया छोरा अर्थान अलीको घर नजिकै रहेको पोखरीमा माछा मार्न जाँदा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

अर्थान अलि घरभन्दा १५० मिटरको दुरीमा रहेको पोखरीमा माछा मार्ने क्रममा चिप्लिएर पोखरीमा डुबेर बेपत्ता भएका थिए । सशस्त्र प्रहरीको गोताखोर टोलीले ती बालकको खोजी गर्दा शव बाहिर निकालेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० बाँकेका प्रमुख सशस्त्र एसपी विमल डाँगीले बताउनुभयो । उहाँका अनुसार डुबेर बेपत्ता भएका बालकको खोजीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेबाट गोताखोर पठाइदिन अनुरोध गरिएकोमा सशस्त्र प्रहरी बल नेपाल बिओपि जयसपुरबाट सशस्त्र प्रहरी निरीक्षक ललित शाहीको कमाण्डमा ७ जनाको टोली र सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण शमशेरगन्जबाट सशस्त्र प्रहरी नायब निरीक्षक टेक प्रसाद आचार्यको कमाण्डमा ६ जनाको गोताखोर टोलीले पोखरीमा खोजी गरेर बालकको शव निकालेको हो ।  

बालकको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल पठाएर पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । केही दिन यता भएको वर्षाले गर्दा विभिन्न ठाउँमा रहेका पोखरी, नाला र तलाउहरूमा पानी भरिएकोले ती स्थानमा बालबालिकालाई जान नदिन र सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय बाँकेले बाँकेवासीसँग अनुरोध गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीले बताउनुभयो ।