• १३ असोज २०८१, आइतबार

हेलिकोप्टरबाट १६१ जनाको सकुशल उद्धार

blog

बाढी, पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको सकुशल उद्धार गर्दै नेपाली सेनाको हेलिकोप्टर ।

काठमाडौँ असोज १३ गते । गृह मन्त्रालयले शनिबार र आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकोप्टरबाट बाढी, पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको १६१ जनाको सकुशल उद्धार गरेको छ ।

गृह मन्त्रालयकमाम प्रवक्ता एवम् सहसचिव ऋषिराम तिवारीले आइतबार बिहानदेखि काभ्रेपलाञ्चोकका विभिन्न पालिकाबाट अहिलेसम्म ८३ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिनुभयो ।

खराब मौसमका कारण शनिबार नै हेलिकोप्टर त्यहाँ पठाइए पनि उद्धार गर्न असहज भएको थियो ।

काभ्रेपलाञ्चोकमा अहिले नेपाली सेनाका तीन वटा हेलिकोप्टरले उद्धार कार्य जारी राखेको छ । प्रवक्ता तिवारीले गृह मन्त्रालयको अनुरोधमा विपदको जोखिममा रहेका नागरिकहरुको उद्धारमा सेनाले लगातार हवाइ उद्धार गरिरहेको बताउनुभयो ।

त्यसैगरी, शनिबार काठमाडौँ उपत्यकामा १३, सिन्धुलीमा ३३ र मकवानपुरमा ३२ जनाको हवाइ उद्धार गरिएको थियो ।

गृह मन्त्रालयका प्रवक्ता तिवारीले बाढी, पहिरोका कारण अवरुद्ध राजमार्ग खुलाउन सबै संयन्त्र परिचालन गरिएको बताउनुभयो ।

गृह मन्त्रालयको तथ्याङ्क अनुसार बाढी, पहिरो र डुबानबाट १०७ जनाको मृत्यु, ६४ जना बेपत्ता र ७३ जना घाइते भएका छन् । 

गृहमन्त्री रमेश लेखकले सुरक्षा संयन्त्र र सरोकारवाला निकायलाई उद्धार, राहत, घाइतेको स्वास्थ्य उपचार र अवरुद्ध सडक सुचारु गर्न तदारुकताका साथ लाग्न निर्देशन दिइसक्नुभएको छ ।