• १३ असोज २०८१, आइतबार

त्रिवि र पूर्वाञ्चलको परीक्षा स्थगित

blog

काठमाडौँ, असोज १३ गते । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको सम्पूर्ण परीक्षा स्थगित गरेको छ । 

असोज १० देखि सञ्चालनमा रहेको मानविकी, शिक्षा शास्त्र तथा व्यवस्थापन सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत स्नातक तह दोस्रो वर्षको आइतबार हुने परीक्षा स्थगित भएको त्रिविले जनाएको छ ।

आंशिक तर्फको बि.ए., बि.एड. बि.बि.एस. र बि.एस्सीको आज(आइतबार) हुने परीक्षा देशभर उत्पन्न भएको मौसमको प्रतिकुलताका कारण स्थगित गरिएको जनाएको छ ।

यो परीक्षा असोज २१ मा सोही परीक्षा केन्द्र र समयमा सञ्चालन हुने त्रिविले सूचना प्रकाशित गरेको छ । 

त्यसै गरी पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले सोमबारसम्मको परीक्षा स्थगित गरेको छ । त्रिवि र सीटीइभीटीले आइतबारको मात्रै परीक्षा स्थगित गरेकोमा पूर्वाञ्चलले सोमबारको पनि परीक्षा स्थगित गरेको हो । 

व्यवस्थापन, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, चिकित्सा शास्त्र, कला, शिक्षा शास्त्र संकायका विभिन्न शैक्षिक कार्यक्रमहरूको सेमेस्टर तथा वार्षिक प्रणाली अन्तर्गत नियमित, आंशिक र मौका परीक्षाहरू सञ्चालन भइरहेको छ । ‘देशभर अविरल वर्षाका कारण जटिल परिस्थिति उत्पन्न भएकाले आइतबार र सोमबार सञ्चालन हुने सम्पूर्ण परीक्षाहरू अर्को सूचना प्रकाशित नभइन्जेल सम्मका लागि स्थगित गरिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’सूचनामा भनिएको छ ।