• १३ असोज २०८१, आइतबार

महासभामा नेपालको सन्देश

blog

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घीय महासभा अन्तर्गतका विभिन्न सत्रमा सहभागी भई नेपालका तर्फबाट महत्वपूर्ण अभिव्यक्ति राख्नुभएको छ । प्रधानमन्त्री ओलीका अभिव्यक्तिले महासभामा सहभागी विश्वका नेताहरूको ध्यानाकर्षण नेपालप्रति भएको छ ।

प्रधानमन्त्रीको सम्बोधनले नेपालको परराष्ट्रनीति, विश्व दृष्टिकोण, बढ्दै गएको वातावरणीय असन्तुलनले उत्पन्न विषम परिस्थितिप्रतिको चिन्ता र चासो विश्वसामु उजागर भएको छ । ७९ औँ महासभा ‘कोही पनि पछाडि नछोडिने : वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ मूल विषयमा केन्द्रित छ । महासभामा प्रधानमन्त्री ओलीले सम्बोधन तथा द्विपक्षीय भेटवार्तामा व्यक्त विश्व शान्ति, मानव र पृथ्वीको रक्षा, जलवायु न्याय, गरिबी निवारण, लोकतन्त्र र आर्थिक रूपान्तरणको यात्रामा नेपालले गरेका प्रयासबारे अवगत गराउनुभएको छ । उहाँले विश्व शान्ति, जलवायु परिवर्तन र दिगो विकासका लागि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग हातेमालो गर्न चाहेको स्पष्ट पारेर सहयोग वृद्धिका लागि मार्ग प्रशस्त गर्नुभएको छ । 

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियासँग सम्बन्धित सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले विसं २०६३ मा बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएपछि नेपाल शान्ति प्रक्रियालाई चाँडो पूरा गर्न दृढ रहेको अवगत गराउनुभयो । सङ्घर्षबाट उदाएको राष्ट्रको रूपमा नेपालले शान्ति र राजनीतिक स्थायित्वको महत्व बुझेको बताउनुहुँदै ओलीले संसद्ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरिसकेकाले सङ्क्रमणकालीन न्यायसम्बन्धी सबै विषय सधैँका लागि समाधान गर्न प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो । सम्बोधनका क्रममा उहाँले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन राष्ट्रसङ्घसहित अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगको प्रशंसासमेत गर्नुभयो । कानुन कार्यान्वयन गर्दा सत्य र न्यायसहित पीडितको अधिकारको रक्षा गरिने स्पष्ट गर्दै विश्व समुदायमा आश्वस्त पार्नुभएको छ ।

प्रधानमन्त्री ओलीले वर्तमान विश्व आमूल परिवर्तनको मोडमा रहेको धारणा राख्दै धनी र गरिब, सद्भाव र घृणा, आर्थिक विकास र वातावरणीय विनाशबिचको विरोधाभासमा रहेकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ । भूराजनीतिक प्रतिस्पर्धाको पुनः उदय भएको, सैन्य खर्च र नियन्त्रणविहीन हतियार दौड बढिरहेको र आणविक युद्धको भय कायमै रहेकाले यस किसिमको विभेद अन्त्य गर्न सहकार्यको आवश्यकताबोध गराउनु आफैँमा महत्वपूर्ण अभिव्यक्ति हो । उहाँले सामूहिक इच्छाशक्ति र एकीकृत कार्ययोजनाद्वारा मात्र दिगो शान्ति र साझा समृद्धिको युग प्रारम्भ गर्न सम्भव हुने साझा मार्गसमेत सुझाउनुभएको छ ।

असोज ४ गते न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएका प्रधानमन्त्री ओली विभिन्न विषय केन्द्रित बैठकमा समेत सहभागी हुनुभएको समाचार प्रकाशित भएका छन् । महासभा अन्तर्गतको उच्चस्तरीय बैठकमा ‘समुद्री सतह वृद्धिका कारण उत्पन्न चुनौती’ का विषयमा प्रधानमन्त्री ओलीले गर्नुभएको सम्बोधन विश्व समुदायमा चर्चामा रहेको छ । उहाँले हिमालदेखि समुद्रसम्मको रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गर्नुभएको छ । विश्वव्यापी कार्बन उत्सर्जनका कारण एसियाका दुई तिहाइ हिमाल पग्लिएसँगै कतिपय नदी प्रणाली विलीन हुन पुगेकाले हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना तयार गर्न अपरिहार्य भएको स्पष्ट गर्नुभएको हो ।

हिमालयहरू प्राकृतिक पुनर्भरण प्रणाली भएकाले यिनलाई पग्लिन र सामुद्रिक तापक्रम बढ्न नदिन विश्वव्यापी साझा प्रयास हुनुपर्नेमा ओलीले जोड दिनुभयो । उहाँले बढ्दो प्रदूषण प्रवाह नियन्त्रणमा हातेमालो गर्दै जलवायु न्यायको नीति कार्यान्वयन गर्न कार्बन उत्सर्जनकर्ता मुलुकले प्रभावित मुलुकलाई उचित क्षतिपूर्ति भरण गर्नुपर्नेमा सबैको साझा धारणाको आवश्यकताबोध गराउनु अझ महìवपूर्ण छ । नेपालले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) र ७८ औँ महासभामा समेत जलवायु परिवर्तनबाट सिर्जित असरमा क्षतिपूर्ति भरणको विषयलाई जोडदार रूपमा उठाएको स्मरणीय छ । प्रधानमन्त्री ओलीद्वारा ‘फ्युचर अफ द समिट’ सत्रको अध्यक्षतासमेत गर्नुलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ । अल्पविकसित मुलुकका कठिनाइ र आवश्यकतालाई विश्वसामु राख्न प्राप्त अवसरले सहयोग अभिवृद्धिका लागि थप बल पुग्ने अपेक्षा गरिएको छ ।

नेपालले दिगो विकासका निम्ति अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को मूलमन्त्रसमेत स्पष्ट गर्नुभएको छ । सन् २०२६ मा नेपाल अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने तयारीमा रहेको बताउँदै दिगो विकासका लक्ष्य हासिल गर्न मेहनत गरिरहेकाले लक्ष्य हासिल गर्न ठुलो मात्रामा आर्थिक सहयोगको अपेक्षा गरेको स्पष्ट गर्नुभएको हो । उहाँले नेपाली भूमि महान् ऋषिमुनिहरूको ज्ञान र आशीर्वादले भरिपूर्ण रहेको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले भगवान् गौतम बुद्धका शिक्षाले शान्ति, सुरक्षा र मेलमिलापको बाटोमा प्रेरित गरेको अभिव्यक्तिले विश्व शान्तिप्रतिको नेपालको अवधारणालाई विश्वसामु स्पष्ट पार्नु आफैँमा महत्वपूर्ण छ ।