काठमाडौँ, असोज १३ गते । बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । विपदमा परी एक सय एकजना घाइते भएका छन् ।
बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रेमा १०, मकवानपुरमा सात, सिन्धुपाल्चोकमा छ जना, सोलुखुम्बुमा पाँच, पाँचथरमा पाँच, भक्तपुरमा पाँच जनाले ज्यान गुमाएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटामा दुई, महोत्तरीमा दुई, रामेछापमा एक, झापामा एक, उदयपुरमा एक, इलाममा एक, सप्तरीमा एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ ।
बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको उहाँले बताउनुभयो ।