• १३ असोज २०८१, आइतबार

बाढीको मारमा आइसियुका बिरामी

blog

काठमाडौँ, असोज १३ गते । काठमाडौँ उपत्यकाका अस्पतालमा उपचाररत बिरामी पनि बाढीबाट प्रभावित भए । उपत्यकाका नदी र खोलाका आसपासमा रहेका अस्पताल डुबानमा पर्दा ती अस्पतालका आइसियु तथा वार्डमा रहेका बिरामीलाई अन्य अस्पतालमा सार्नुपरेको हो । 

ललितपुरको मेडिसिटी र किस्ट मेडिकल कलेज तथा अस्पताल, भक्तपुर जगातीमा रहेको सिद्धि स्मृति महिला तथा बाल अस्पताल, बल्खुस्थित वयोधा अस्पताल र ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्र पूर्ण रूपमा डुबानमा परे । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हालसम्म उपत्यकाका चार वटा अस्पताल डुबानमा परेको तर उपत्यकाबाहिरका स्वास्थ्य संस्था डुबानमा परेको कुनै जानकारी प्राप्त नभएको बताउनुभयो । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक प्रज्वल श्रेष्ठले हनुमन्तेको बाढीले केन्द्रको भुइँतला पूर्ण रूपमा डुबान हुँदा प्रयोगशाला, एक्सरे तथा रेडियोलोजी कक्षमा पूर्ण क्षति पुगेको जानकारी दिनुभयो । यस्तै ललितपुर भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा नक्खु खोलाको बाढी पसेर त्यहाँ उपचाररत बिरामीलाई अन्य अस्पतालमा सारिएको छ । 

यस्तै भक्तपुरस्थित सिद्धिस्मृति अस्पतालको आइसियुमा रहेका आठ जना बिरामीलाई काठमाडौँ मेडिकल कलेजलगायतका अन्य अस्पतालमा रिफर गरिएको अस्पतालका अध्यक्ष श्याम धौबडेलले बताउनुभयो । लगातारको वर्षापछि कर्मनासा खोलामा बाढी आउँदा ललितपुरको किस्ट अस्पतालमा डुबान हुँदा त्यहाँका जटिल अवस्थाका बिरामीलाई अन्यत्र सारिएको छ । 

उपचार निःशुल्क हुने

यसैबिच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढीपहिरो तथा डुबानबाट प्रभावित घाइतेको निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सबै स्वास्थ्य संस्थाहरूले बाढी, पहिरो तथा डुबानलगायत विपत्बाट उद्धार गरिएका घाइते बिरामीको निःशुल्क उपचार गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले मन्त्रालयले सबै प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूले आपत्कालीन अवस्थामा स्वास्थ्यसम्बन्धी समस्याबारे जानकारी प्रदान गर्नका लागि हटलाइन नम्बर सार्वजनिक गर्न निर्देशन दिएको बताउनुभयो । 

उहाँले आपत्कालीन अवस्थामा इपिडिमियोलोजी तथा रोग नियन्त्रणको हटलाइन नम्बर १११५ मा र  एम्बुलेन्सको आवश्यकता हुँदा १०२ नम्बरमा सम्पर्क गर्न आग्रह गर्न सुझाव दिनुभयो । 

प्रवक्ता बुढाथोकीका अनुसार प्रदेश, जिल्ला र स्थानीय तहका द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्नुका साथै प्रादेशिक स्वास्थ्य आपत्कालीन केन्द्रहरूले हब तथा स्याटेलाइट अस्पतालहरूसँग समन्वय गरी आकस्मिक स्वास्थ्यकर्मीको समूहलाई तयारी अवस्था राख्न निर्देशन दिएको छ । 

उहाँले प्रादेशिक स्वास्थ्य आपत्कालीन केन्द्रहरूले स्वास्थ्यका साझेदार निकायहरूसँग समन्वय गर्न, आवश्यक स्रोत साधनको अध्यावधिक गर्न निर्देशन दिएको जानकारी दिनुभयो । उहाँले हब तथा स्याटेलाइट अस्पतालको आकस्मिक कक्षमा जनशक्ति थप गरी उपचारका लागि तयारी अवस्थामा रहने व्यवस्था मिलाइएको बताउनुभयो । देशभर १९ वटा हब अस्पताल छन् ।

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।