• १२ असोज २०८१, शनिबार

कसले बनायो मलाई म (कविता)

blog

कसले बनायो मलाई म

जीवनमा कैयौँ पटक 

उब्जिरहने प्रश्न 

पुनः दोहोरिइरहन्छ 

सृष्टि–सम्पत्ति आमाबुवाको 

अपार जायजेथा सबै

धनको धन मनको मन

मलाई म कति मन पर्छ

मभित्रको म

मबाहिरको म

आँखावरिपरि देखिरहने म

मह हो र चिमोटेर चाख्न 

किरा, फट्याङ्ग्रा र भुसुना सारा

असङ्ख्य जीव–जीवात्मा

प्रकृति प्रवृत्ति बनायो कसले

रहस्य नयाँ नयाँ खोतल्नु मैले

विचित्र ठाडो भर्‍याङ 

भर्‍याङमाथि अर्को भर्‍याङ 

टोपी खस्ने अक्कर हेरेर बस्छु र

मान्छेको जन्म यो मानिस हुन्छु म 

भत्काउन, भड्काउन, हुत्याउन, हुर्‍याउन 

तम्तयार कति छन् यहाँ

अरू त अरू चन्द्रमामा दाग देख्ने

भन ती कुन मानिस हुन् 

सलल सरिता म थाक्दिनँ 

बग्छु खोला तोडेर चट्टान 

अविरल इन्द्रावती झैँ यात्रा मेरो

समय मुठी हो धाराप्रवाह बुटी

ऐश्वर्य जगत् आश्चर्य चमक 

निर्भीक मभित्र निर्भय उत्पत्ति

सल्बलाउँछन् छट्पटी जोजति

अप्ठ्यारो कुम्ल्याउने मलाई छैन आपत्ति !   

Author

बिन्दु अधिकारी ढकाल