दीपक श्रेष्ठ
काठमाडौँ, असोज १२ गते । सिन्धुली जिल्लाकाे सुनकोशी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकुलका २८ विद्यार्थी र गुरुसहित ३३ जना नदीबिचमा फसेका छन् ।
सुनकोशीको सतह बढेर मन्दिरसम्म आइपुगेको र रोशी खोलाले मन्दिरको दुवैतिरबाट च्यापेकाले कतै भाग्ने अवस्था नरहेको गुरुकुलका शिक्षक नारायण घिमिरेले बताउनुभयो । अहिले विद्यार्थी र शिक्षक गुरुकुलको भवनको माथिल्लो तलामा रहेका छन् । बिजुली र इन्टरनेटको पहुँच छैन ।
उनीहरूको उद्धारका लागि कतैबाट सम्पर्क र पहल नभएको गुनासो गुरु नारायण घिमिरेको छ । उहाँले उद्धारको पहल गरिदिन मिडियाकर्मीलाई आग्रह गर्नुभयो ।
सिन्धुली प्रमुख जिल्ला अधिकारी लीला शर्माका अनुसार उद्धारका लागि नजिकै सेना र सशस्त्र प्रहरीको टोली राखिएको छ । उद्धार प्रयास भइरहेको छ ।