• ११ असोज २०८१, शुक्रबार

प्रादेशिक सडकको गुरुयोजना बनाइँदै

blog

बुलबुले समाचारदाता

सुर्खेत, असोज ११ गते । कर्णाली प्रदेश सरकारले प्रादेशिक सडकको गुरुयोजना निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर सडक गुरुयोजना निर्माणको काम अघि बढाइने भएको हो । विकासको मेरुदण्डका रूपमा रहेको पूर्वाधारलाई सन्तुलित, व्यवस्थित, प्रभावकारी, दिगो, भरपर्दो र सुरक्षित बनाउन पहिचान भएका प्रदेश लोकमार्ग तथा मार्गको प्राथमिकीकरणसहित प्रादेशिक सडक गुरुयोजना निर्माण गर्न लागिएको हो ।

चालु आव २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटमा समेटेर योजना कार्यान्वयन गर्न लागिएको सरकारले जनाएको छ । गुरुयोजना तयार गर्न चालु आवमा २५ लाख रुपियाँ बजेट विनियोजन गरिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ । यो वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर योजना ल्याइएको मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताउनुभयो । उहाँका अनुसार सडक व्यवस्थित गर्न गुरुयोजना निर्माणको योजना अघि सारिएको छ । प्रदेश सरकार मातहतका (प्रादेशिक) सडकको गुरुयोजना निर्माण गर्न लागिएको हो ।

प्रादेशिक सडकको गुरुयोजना बनाएपछि सडक पूर्वाधार निर्माण तथा मर्मतसम्भारका लागि प्रदेशको प्राथमिकता तय हुने सुवेदीले बताउनुभयो । प्रादेशिक सडक व्यवस्थित गर्न गुरुयोजना बनाउन लागिएको उहाँको भनाइ छ । सडक निर्माण, मर्मत, सुधार, स्तरोन्नति तथा यातायात पहुँचको अवस्था र पुनर्निर्माण गर्नुपर्ने सडकको माग सङ्कलन, सडक यातायातसँग सम्बन्धित आवश्यक सेवा तथा सुविधाका लागि गुरुयोजनाले सहयोग पुग्ने प्रवक्ता सुवेदीले जानकारी दिनुभयो । 

गत वर्ष निर्माण गरिएको गुरुयोजनाको प्रारम्भिक स्वरूप प्रदेश योजना आयोगमा थन्किएको छ । गत वर्ष आयोगको स्वीकृतिका लागि योजना आयोगमा गुरुयोजनाको मसौदा पेस गरिएको थियो । त्यसलगत्तै भएको सरकार फेरबदल र आयोग पदाधिकारीविहीन हुँदा काम अघि नबढेको मन्त्रालयले जनाएको छ । उहाँका अनुसार यो वर्ष पुनः नयाँ गुरुयोजना बनाउने कि गत वर्ष निर्माण गरिएको योजना परिमार्जन गरेर अघि बढाउने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो । 

प्रदेशको सडक पूर्वाधार विकासलाई व्यवस्थित गर्न प्रादेशिक सडक गुरुयोजना निर्माण गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । प्रादेशिक सडक गुरुयोजना नबन्दा सडक निर्माण गर्न बजेट छरिने र त्यसले उपलब्धि दिन नसक्ने भएपछि प्रदेश सरकारले प्रादेशिक सडक गुरुयोजना निर्माण गर्न लागेको हो । गुरुयोजना निर्माणको चर्चा चलेको लामो समय भए पनि यो वर्ष सरकारले बजेट विनियोजन गरेर योजना अघि सारेको हो । गत वर्ष सामान्य गुरुयोजनाको खाका निर्माण भएको छ । अहिले त्यसैलाई परिमार्जन गरेर अघि बढाइने वा नयाँ निर्माण गर्ने विषयमा छलफल भइरहेको भौतिक मन्त्रालयले जनाएको छ ।