• ५ मंसिर २०८१, बुधबार

समृद्धिको आधार पर्यटन

blog

पर्यटन राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड हो । पर्यटनलाई हामीले उद्योगका रूपमा विस्तार गर्नु जरुरी छ । किनकि यसले एकातिर रोजगारी प्रवर्धन गर्न र अर्कातिर विदेशी मुद्रा आर्जन, स्थानीय उद्योगलाई प्रोत्साहन र पूर्वाधार विकासमा ठुलो योगदान पुर्‍याउँछ । पर्यटनले ग्रामीण र दुर्गम गाउँ ठाउँमा रोजगारी सिर्जना गरी स्थानीय बासिन्दाको आय बढाउँछ । जसले विकास र आर्थिक समृद्धिमा ठुलो सहयोग पुग्छ । पर्यटन क्षेत्रबाट सरकारलाई कर, प्रवेश शुल्क, भिसा शुल्क र सेवा शुल्कमार्फत ठुलो मात्रामा  राजस्व प्राप्त हुन्छ । जसको माध्यमबाट देशको विदेशी मुद्रा सञ्चिति बढाउँछ, व्यापार घाटा घटाउन अहम् भूमिका खेल्छ । 

पर्यटनले भौतिक पूर्वाधार जस्तै डाँडाकाँडामा बाटाघाटा, सडक, विमानस्थल, होटेल, अत्याधुनिक प्रविधि सञ्चार सञ्जालको विस्तार गर्न मद्दत गर्छ । कुना काप्चामा विद्यालय, औषधालय र अस्पताल खोलिन्छन् । स्थानीय उत्पादन जस्तै हस्तकला, कलाकृति, लत्ताकपडा आदि किन्ने हुँदा स्थानीय कृषक र उद्यमीलाई प्रत्यक्ष रूपमा आर्थिक लाभ हुन्छ । कला, संस्कृति, रहनसहन, प्राकृतिक सम्पदा, ऐतिहासिक, भौगोलिक, धार्मिक, सांस्कृतिक र सामाजिक वस्तुस्थिति आदि प्रत्यक्ष रूपमा अर्थतन्त्रको दिगो विकाससँग जोडिएको हुन्छ । जसले गर्दा ग्रामीण क्षेत्रमा पर्यटक आकर्षित हुँदा स्थानीय जीवनस्तर सुधार गर्न मद्दत गर्छ । गाउँका दुर्गम बस्तीको विकासमा पर्यटनले महत्वपूर्ण भूमिका खेल्छ । 

कोरोना महामारीका कारण शिथिल बनेको नेपालको अर्थतन्त्रमा अहिले पर्यटन क्षेत्रले सकारात्मक गति लिएको छ । सन् २०२३ मा विभिन्न देशबाट १० लाख १४ हजार पर्यटक नेपाल भ्रमणमा आएका थिए । सन् २०२३ मा पर्यटकको औसत बसाइ अवधि १३.२ दिन र प्रतिदिन प्रतिपर्यटक औसत खर्च ४१ अमेरिकी डलर रहेको थियो । जसबाट पर्यटकले ५१ अर्ब ३९ करोड खर्च गरेका थिए । उक्त समयमा जिडिपीमा पर्यटनको योगदान १.९७ प्रतिशतबाट बढेर २.४२ प्रतिशत जति रहेको थियो । सन् २०२४ को आठ महिनामा सात लाख २० हजार ३३४ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ७९,१००, फेब्रुवरीमा ९७,४२६, मार्चमा १,२८,१६७, अप्रिलमा १,११,३७६, मेमा ९०,२११, जुनमा ७६,७३६, जुलाईमा ६४,५९९, अगस्त महिनामा ७२,७१९ पर्यटक नेपाल भ्रमणमा आएका छन् । जुन गतिमा हामीकहाँ पर्यटकको आगमन हुनुपर्ने हो, त्यसो हुन नसकेको प्रस्ट देखिन्छ । 

हामीले पर्यटकलाई प्राकृतिक, सांस्कृतिक र धार्मिक रूपमा सम्पन्न छौँ भन्दैमा पर्यटक आउँदैन । पर्यटनको सम्भावना प्रशस्त भएर पनि नेपालको पर्यटन क्षेत्रमा भएको अस्तव्यस्त व्यवस्थापनका कारणले अर्थतन्त्रमा खासै योगदान पुगेको देखिँदैन । पर्यटनको विकास र विस्तारका लागि पूर्वाधार क्षेत्रलाई सुधार गर्दै सडक र हवाई यातायात सुरक्षित बनाउन सक्नु पर्छ । सरकारले बनाउने पर्यटनसँग सम्बद्ध सबै नीति, कार्यक्रम स्पष्ट खाकासहित ल्याउनु जरुरी देखिन्छ । 

दुई छिमेकी मुलुक भारत र चीन जनसङ्ख्यामा पनि विशाल छन् । हामीले उनीहरूलाई ल्याउन सक्नु पर्छ । पर्यटकको आगमन सङ्ख्या, बसाइको अवधि, प्रति पर्यटक खर्च आदि बढाउन सरकार र निजी क्षेत्रले पूर्वाधार र सेवामा लगानी गर्नु पर्छ । उनीहरू नेपालमा आउँदा उनीहरूको बसाइ लम्बिँदा नेपालले विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । सरकारले पनि पर्यटकको बसाइ अवधि र खर्च बढाउने नीति लिन सक्नु पर्छ । पर्यटन विकास गर्न सहरदेखि गाउँ गाउँसम्म होमस्टे, ग्रामीण पर्यटन, स्थानीय प्रविधि र साधनमा प्राथमिकता दिनु पर्छ । यसो हुँदा मुलुकभित्र धेरैभन्दा धेरै व्यक्तिले रोजगारको सुवर्ण अवसर प्राप्त गर्छन् । हामीले पर्यटकलाई नेपालमा जति बढी आकर्षित गर्न सकियो, त्यति नै बढी रोजगारी सिर्जना हुने गर्छ । विश्वभर पर्यटकको आगमनमा वृद्धि हुँदै गर्दा हाम्रो जस्तो प्रचुर पर्यटकीय सम्भावना भएको देशमा आकर्षक पर्यटकीय गन्तव्यबारे सूचना सुरक्षा र सुविधालाई अधिकतम बजारीकरण गर्न सक्नु पर्छ । त्यसका लागि विश्वभरि छरिएर रहेका ६० लाखभन्दा धेरै नेपालीलाई परिचालन गरेर तथ्य र तस्बिर संसारभर प्रचारप्रसार गर्न विद्युतीय र छापा माध्यमबाट पर्यटनको विकास गर्न सक्नु पर्छ । 

अतः पर्यटनले मुलुकको आर्थिक विकासमा बहुआयामिक प्रभाव पार्छ । पर्यटन विकासले वातावरण, सामाजिक, सांस्कृतिक अवस्थिति र आर्थिक स्तरलाई मजबुत बनाउँछ । पर्यटन धेरै क्षेत्रसँग जोडिएकाले प्रत्यक्ष/परोक्ष रूपमा ठुलो योगदान छ । हाल पर्यटन संसारभरिकै लागि पर्यटन उद्योग सबैभन्दा ठुलो व्यवसायका रूपमा परिणत भइसकेको छ । पर्यटनबाट मुलुकको आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धिले रोजगारी सिर्जना र आयआर्जनमा सहयोग पुर्‍याएको छ । सम्भावना भएर मात्रै कुनै पनि क्षेत्रको विकास हुन सक्दैन, त्यसका लागि व्यवस्थित, योजनाबद्ध काम र इच्छाशक्ति हुन आवश्यक छ । नेपाल पूर्वाधार निर्माण क्षेत्रमा अझै पनि पछाडि छ । स्थल यातायात र हवाई यातायात पर्यटन क्षेत्रको विकासका लागि पहिलो पूर्वाधार हो । हाम्रो ध्यान पूर्वाधारतिर पनि जानु आवश्यक छ । 

पर्यटकका उपयुक्त कानुनी व्यवस्था, सुरक्षा प्रबन्ध गरी चौबिसै घण्टा मनोरञ्जन सुविधा सञ्चालन गर्न अनुमति राज्यले दिन सक्नु पर्छ । धार्मिकस्थलको संरक्षण, संवर्धन गरी धार्मिक पर्यटनको गन्तव्यमा थप आकर्षण र सुविधा बनाउन सक्नु पर्छ । राज्यले पर्यटकका लागि सहज रूपमा घुमफिरको वातावरण बनाइदिन सक्नु पर्छ । वैकल्पिक पदयात्रा मार्गको खोज, पहिचान, ग्रामीण क्षेत्रसम्म पुग्ने यातायात सञ्चालन र विकासमा स्पष्ट नीति ल्याउने हो भने पर्यटक फर्की फर्की आउँछन् । पर्यटकका लागि आकर्षणको केन्द्र भएकाले नेपाली भूमि पर्यटन उद्योगका दृष्टिले उर्वर छ भन्ने विश्वास दिलाउन सक्नु पर्छ । नेपाललाई पर्यटनका लागि उत्कृष्ट गन्तव्य स्थल बनाउन सरकार र निजी क्षेत्रको समन्वयको आवश्यक छ । हामीले पर्यटनलाई उद्यमशीलताका रूपमा विकास गर्नै पर्छ ।