• ११ असोज २०८१, शुक्रबार

उत्साहजनक निर्यात

blog

आयात निर्यातलाई सहज बनाउन नेपालगन्ज नाकामा निर्माण गरिएको आइसिपी । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असोज ११ गते । पश्चिम नेपालको प्रमुख व्यापारिक नाका नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको सुरुमै रिट्ठा, तार्पिन तेल, खोटो रोजिनलगायतका पदार्थको निर्यातमा उत्साहजनक वृद्धि भएको छ । 

नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले गत आव २०८०/८१ को साउन, भदौको तुलनामा चालु आवको साउन र भदौमा रिट्ठाको निर्यातमा ३३० प्रतिशत, तार्पिनको तेलमा २७४ प्रतिशत, ‘एसेन्सियल तेल’ मा २९३ प्रतिशत र खोटो रोजिनको निर्यातमा १४० प्रतिशत वृद्धि भएको बताउनुभयो । 

आवको सुरुमै उक्त वस्तुहरूको निर्यातमा उत्साहजनक रूपमा वृद्धि भएपछि नेपालगन्जलगायत पश्चिम नेपालका जडीबुटी व्यवसायी निकै उत्साहित भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।  

सो कार्यालयले दिएको तथ्याङ्क अनुसार गत आवको सुरुको दुई महिनामा यो नाकाबाट १२ लाख २० हजार रुपियाँको १६ हजार किलो रिट्ठा निर्यात भएकोमा यस वर्षको सोही अवधिमा ५२ लाख ४९ हजार रुपियाँको ७६ हजार ७० किलो निर्यात भएको छ । यसै गरी गत वर्ष दुई महिनामा यो नाकाबाट ९५ लाख ७८ हजार रुपियाँको ६४ हजार लिटर तार्पिनको तेल निर्यात भएकोमा यस वर्षको सोही अवधिमा तीन करोड ५८ लाख ३४ हजार रुपियाँको दुई लाख १५ हजार लिटर तार्पिनको तेल निर्यात भएको छ । 

सोही प्रकारले गत वर्ष साउन र भदौमा ८५ लाख ४० हजार रुपियाँको २६६ लिटर एसेन्सियल तेल निर्यात भएकोमा यस वर्षको सोही अवधिमा तीन करोड ३४ लाख ७४ हजार रुपियाँको एक हजार ५८ लिटर निर्यात भएको छ । 

यस्तै गत वर्ष सुरुको दुई महिनामा नेपालगन्ज नाकाबाट चार करोड ७६ लाख ७० हजार रुपियाँको तीन लाख ३८ हजार ५७७ किलो खोटो रोजिन निर्यात भएकोमा यस वर्षको सोही अवधिमा ११ करोड ४४ लाख ९३ हजार रुपियाँको सात लाख ८४ हजार चार सय किलो निर्यात भएको छ ।  चालु आवको सुरुमै केही वस्तुको निर्यातमा अत्यधिक वृद्धि देखिएपछि यहाँका जडीबुटी व्यवसायी यस पटक ठुलो परिमाणमा विभिन्न वस्तु निर्यात हुनेमा आशावादी देखिएका छन् ।