• ११ असोज २०८१, शुक्रबार

दसैँअगावै भुक्तानी उपलब्ध गराउन माग

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ११ गते । निर्माण व्यवसायीले दसैँअगावै बाँकी भुक्तानी उपलब्ध गराउन माग गरेका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घले बिहीबार पत्रकार सम्मेलन गरी विगत दुई वर्षदेखिको करिब ४५ अर्ब रुपियाँ भुक्तानी नपाउँदा निर्माण उद्योग धराशायी भएको भन्दै तत्काल भुक्तानीको माग गरेको हो । 

भुक्तानी नपाउँदा निर्माण उद्योगले आर्थिक सङ्कटका साथै विकराल अवस्थाको सामना गरिरहेको महासङ्घका अध्यक्ष रवि सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “भुक्तानी नहुँदा बैङ्क ऋणको किस्ता र करसमेत बुझाउन सकेका छैनौँ । समग्र निर्माण चक्र नै अस्तव्यस्त भई निर्माणसँग सम्बन्धित उद्योग नै बन्द हुने स्थिति छ ।” 

महासङ्घका अनुसार राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, सङ्घबाट प्रदेश र स्थानीय तहमा हस्तान्तरण भएका आयोजना, स्थानीय अस्पताललगायतका आयोजनाको भुक्तानी हुन बाँकी छ । गत असारमा गरिएको आंशिक भुक्तानी पनि चालु आर्थिक वर्षको विनियोजित बजेटबाट भएकाले यस वर्ष हुने थप निर्माण कार्यको भुक्तानी झन् जटिल हुने अध्यक्ष सिंहको भनाइ छ । 

उहाँले भन्नुभयो, “भुक्तानी नदिने, साइट उपलब्ध नगराउने तर दिनहुँ व्यवसायीलाई कालो सूचीमा राख्ने, ठेक्का टोड्ने र बैङ्क जमानत जफत गरी व्यवसायीलाई आतङ्कित पार्ने काम भएको छ । हामी सरकारको ध्यानाकर्षण गराइरहेका छौँ ।”