• ११ असोज २०८१, शुक्रबार

बाजुरामा सवारी पार्किङको समस्या

blog

सडकछेउमा पार्किङ गरिएका साना तथा ठुला सवारीसाधन ।

बाजुरा समाचारदाता

बाजुरा, असोज १० गते । बाजुराको सदरमुकाम मार्तडीमा सवारीसाधन पार्किङमा समस्या हुने गरेको छ । मार्तडीमा विगत ११ वर्षदेखि पार्किङको व्यवस्था नहुँदा यहाँ आउने सानाठुला सबै सवारीसाधनलाई दैनिक समस्या हुने गरेको हो ।

मार्तडीमा बस चल्न थालेको झन्डै ११ वर्ष भए पनि अझै पार्किङको व्यवस्था नहुँदा सवारीसाधनलाई समस्या भएको गाडीधनी रामचन्द्र गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले देशका विभिन्न सहरदेखि लामो दुरीका झन्डै १० भन्दा बढी बस दैनिक सदरमुकाम मार्तडीमा पुग्ने गरेका छन् । मार्तडीमा पार्किङका लागि ठाउँ नहुँदा यहाँ आएका सवारीसाधनलाई अहिले सडकको छेउछाउमा राख्नु परेको छ ।” 

मार्तडीमा पार्किङ स्थापनाका लागि बस व्यवसायले पटक पटक आवाज उठाउने गरेको भए पनि सम्बन्धित निकायबाट कुनै सुनुवाइ नभएको गिरीले बताउनुभयो । पछिल्लो समय काठमाडौँ, नेपालगन्जदेखि एक/एक, महेन्द्रनगरदेखि चार, धनगढीदेखि तीन र अत्तरियादेखि एक गरेर दैनिक १० वटा बस मार्तडीमा पुग्ने गरेका छन् । मार्तडीमा पुग्ने गरेका यी सबै साना तथा ठुला सवारीसाधन अहिले नेपाल टेलिकम, तुफानडाँडा र गैरीबजार सडकमा पार्किङ हुने गरेका छन् ।

२०७० फागुन १४ गतेदेखि मार्तडीमा बस सेवा सञ्चालन भए पनि बसपार्क नहुँदा ती बस सडकछेउमै पार्किङ हुने गरेका हुन् । मार्तडीको सडक साँघुरो छ । त्यसमाथि ठुला बस सडकमै राख्ने गरेकोले पैदलयात्रीलाई आउजाउ गर्न निकै समस्या हुने गरेको मार्तडीका स्थानीयवासी बताउँछन् । काठमाडौँ, नेपालगन्ज, धनगढी, महेन्द्रनगर र अत्तरियादेखि बाजुरामा आउने सबै बस अहिले सडकछेउमै पार्किङ गर्दै आएको मार्तडी गैरीबजारस्थित टिकट काउन्टर प्रमुख जीवन थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले मार्तडीमा दैनिक १० वटा बस आउँछन् । ती बस पार्किङका लागि अन्य कतै ठाउँ छैन । यसरी गाडी सडकमै पार्किङ गर्दा दुर्घटना बढ्दै गएको र यात्रुले समेत सास्ती खेप्नु परेको छ ।” 

साँफे–मार्तडी राजमार्ग अन्तर्गत बाजुराको इकटीगाडदेखि मार्तडीसम्म सडक कालोपत्रे भए पनि बसपार्क भने अझै बन्न सकेका छैन । बडीमालिका नगरपालिका–८ को पाल्तमा बसपार्क बन्न लागेको झन्डै सात वर्ष भयो तर पनि काम पूरा भएको छैन । स्थानीयलाई बसपार्क नहुँदा सामान बोकेर सडकमा पुर्‍याउनुपर्ने बाध्यता छ । सडकमा पार्किङ गर्दा दुर्घटनाको जोखिम बढ्ने हुनाले सडकमा गाडी पार्किङ गर्न नहुने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मार्तडीको टेलिकमदेखि तुफानडाँडासम्मको सडकको बिचमै गाडी पार्किङ गरेका छन् । हामीले ती गाडी हटाउन खोज्दा उनीहरूले अन्य कतै ठाउँ छैन भन्ने गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताउनुभयो । बडीमालिका नगरपालिकाले मार्तडीमा चल्ने सबै गाडीलाई सहज, व्यवस्थित हुने गरेर बसपार्क निर्माण गर्ने योजना रहेको नगरप्रमुख अम्मर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “पाल्तमा सानो ठाउँ छ । त्यहाँ सबै गाडी अटाउँदैनन् ।