• ११ असोज २०८१, शुक्रबार

नाइजेरियाद्वारा संयुक्त राष्ट्र सुरक्षा परिषदमा अफ्रिकी देशका लागि स्थायी सीटको माग

blog

लागोस, असोज ९ गते । नाइजेरियाले मङ्गलबार संयुक्त राष्ट्र सुरक्षा परिषद्मा अफ्रिकी देशका लागि स्थायी सीटको माग गरेको छ र अन्तर्राष्ट्रिय ऋणदातालाई दिएको ऋण रद्द गर्न आह्वान गरेको छ ।

हाल सुरक्षा परिषदमा पाँच स्थायी सदस्यहरु छन् : संयुक्त राज्य अमेरिका, संयुक्त राज्य, फ्रान्स, रुस र चीन । यी मुलुकलाई सुरक्षा परिषद्को कुनै पनि प्रस्तावमा भिटो प्रयोग गर्ने अधिकार छ । न्युयोर्कमा संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको राष्ट्रका उपाध्यक्ष कासिम शेट्टिमाले “सुरक्षा परिषद् विस्तार गरिनुपर्छ” भनी जोड दिनुभयो । 

“हाम्रो महाद्वीप सुरक्षा परिषद्को स्थायी सदस्य श्रेणीमा स्थान पाउन योग्य छ”, राज्य प्रमुख बोला टिनुबुको प्रतिनिधित्व गर्ने शेट्टिमाले भन्नुभयो ।  “हामीले अन्य स्थायी सदस्यहरु जस्तै समान अधिकार र जिम्मेवारी पाउनुपर्छ”,  उहाँले विशेष गरी भिटो शक्तिबारे जोड दिँदै बताउनुभयो ।  

अमेरिकी प्रसारणकर्ता एमएसएनबीसीसँग कुरा गर्दै नाइजेरियाका विदेशमन्त्री युसुफ तुगरले बताउनुभयो “नाइजेरिया स्थायी सदस्यको रूपमा सुरक्षा परिषद्मा हुनु आवश्यक छ ।” नाइजेरियाको महाद्वीपीय प्रतिद्वन्द्वी दक्षिण अफ्रिकाले पनि शीर्ष स्थानमा स्थान बनाउन खोजिरहेको छ ।

यस महिनाको सुरुमा संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूत लिन्डा थोमस-ग्रीनफिल्डले सुरक्षा परिषद्मा अफ्रिकी देशहरूका लागि थप दुई स्थायी सिट सिर्जना गर्न वासिङ्टनले समर्थन गर्ने बताउनुभएको थियो । यद्यपि, उहाँले नयाँ प्रवेशकर्तालाई भिटो शक्ति प्रयोग गर्ने अधिकार नहुने जानकारी गराउनुभएको थियो । 

नाइजेरियाका उपराष्ट्रपतिले बहुपक्षीय संस्थालाई तिर्नुपर्ने ऋण रद्द गर्न माग गर्दै “अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधार” का लागि पनि आह्वान गर्नुभएको छ । उहाँले संयुक्त राष्ट्रका सदस्य राष्ट्रलाई “विश्वव्यापी निकायको सान्दर्भिकता कायम राख्न“ बहुपक्षवादमा पुनः प्रतिबद्ध हुन आग्रह गर्नुभयो । रासस-एएफपी