• २७ असोज २०८१, आइतबार

सर्पदंशविरुद्धको कदम

blog

पृथ्वी सम्पूर्ण प्राणी जगतकाे साझा घर हो । अहिलेसम्मको वैज्ञानिक खोज–अनुसन्धानबाट जीव अनुकूलनको अर्को ग्रह फेला परेको छैन । पृथ्वीमा सृष्टिचक्रदेखि नै विद्यमान प्रकृतिप्रदत्त पारिस्थितिकीय प्रणालीद्वारा सबै प्रकारका जीवजन्तु, कीटपतङ्ग एवं वनस्पतिको अस्तित्व कायम छ । यद्यपि मानिसका लागि सबै प्रकारका जीवजन्तु एवं वनस्पति उत्तिकै आवश्यक तथा जीवनोपयोगी छैनन् तर पनि उनीहरूको अस्तित्वलाई नकार्न सकिँदैन । मानिसको हकमा सर्प यस्तै प्रकारका जीव हुन् । विश्वमा हरेक वर्ष २० लाख मानिसलाई सर्पले डस्ने गरेको तथ्याङ्क छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार यीमध्ये करिब एक लाख ३८ हजार जनाको त मृत्यु नै हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा बर्सेनि २० हजार जना सर्पले डसेर उपचारार्थ अस्पताल भर्ना हुने गरेका छन् ।

खास गरी तराई/मधेशमा मात्रै सर्पदंशबाट बर्सेनि दुई हजार छ सय जनाको मृत्यु हुने गरेको तितो यथार्थ सावर्जनिक छ । यस्तो डरलाग्दो अवस्थामा पनि सर्पदंशको उपचारका लागि मुलुकमा कुनै किसिमको औषधीको उपलब्धता नहुँदा खास गरी भारतबाट आयात गर्नुपर्ने बाध्यात्मक अवस्था छ । भारतमा उत्पादित सर्पदंशविरुद्धको खोप (एन्टी स्नेक भेनम) निकासीमा प्रतिबन्ध लगाउने अदालती आदेशको समाचारले थप चिन्तित बनाउनु स्वाभाविक हो । अब भने मुलुकमै पहिलो पटक निजी लगानीबाट स्थापना गरिएको ‘एन्टी स्नेक भेनम’ उत्पादन उद्योग आफैँले सर्प पाल्ने इजाजत प्राप्त गरेकोले सर्पदंशविरुद्धको खोप उत्पादन हुने निश्चित भएको छ ।

सुनसरीको वराहक्षेत्र नगरपालिका–३ मा रहेको ‘एन्टी स्नेक भेनम’ उत्पादन उद्योग स्थापना भएको १२ वर्षसम्म पनि उद्योगले आवश्यक विष सङ्कलन गर्न सर्प पाल्ने अनुमति नपाउनुमा कारण जे जस्तो भए पनि यसलाई गम्भीर कमजोरी मान्नु पर्छ । सर्प पाल्ने अनुमति पाएसँगै उद्योग सञ्चालनमा ल्याउन बल्ल बाटो खुलेको भन्दै सञ्चालक लक्ष्मीप्रसाद फुयाँलले खुसी व्यक्त गर्नुभएको छ । सर्पदंश उपचार केन्द्र स्थापनाका नाममा केही समयअघि भएको ठुलो घोटालाले धेरैलाई झस्काएको पनि छ । नेपाल सरकार र मधेश प्रदेशको आर्थिक दायित्व रहने गरी सर्पदंश उपचार केन्द्र स्थापनार्थ झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान (हाल राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद्) स्थापना गरिएको स्मरणीय छ । विसं २०७१ मा कम्पनी रजिस्ट्रार कार्यालय र समाज कल्याण परिषद्मा दर्ता गरिएको प्रतिष्ठानले कुनै काम नै नगरी करिब १८ करोड रुपियाँ हिनामिना गरेको विशेष अदालतबाट ठहर भइसकेको छ । मधेश सरकार, लालबन्दी नगरपालिका र प्रतिष्ठानबिच ७२ करोड रुपियाँमा आयोजना सञ्चालन गर्ने समझदारी भएकोमा पहिलो चरणमै दोषी देखिएपछि प्रतिष्ठान अलपत्र परेको छ । 

दिव्य १२ वर्षपछि उद्योगले उद्देश्य अनुरूपको अनुमति प्राप्त गरेको हो । सम्भवतः अघिल्लो प्रतिष्ठानको दबाब र प्रभावले ढिलाइ भएको पनि हुन सक्छ । उद्योगमा प्रदेश सरकार र सङ्घीय सरकारको समेत सहयोग रहने सञ्चालक फुयाँलले बताउनुभएको छ । निजी स्रोतबाट काम गर्दै आउनुभएका फुयाँललाई सरकारको सहयोगले अघि बढ्न हौसला प्राप्त हुनु स्वाभाविक हो । भारतबाट बर्सेनि करिब ६० हजार भायल ‘एन्टी स्नेक भेनम’ आयात गरिँदै आएको थियो । भारतको सर्वोच्च अदालतले सर्पदंशको उपचारमा प्रयोग हुने औषधी स्वदेशमै अपर्याप्त भएको भन्दै निर्यातमा प्रतिबन्ध लगाउन आदेश दिएपछि उक्त औषधीको अभाव हुने गरेको छ । उद्योग स्थापनापछि सर्पदंश उपचारमा आत्मनिर्भर हुनुका साथै आयात प्रतिस्थापन गरेर निर्यातसमेत गर्न सकिने देखिएको हो । 

सर्पदंशको उपचार गर्न सर्पकै विष आवश्यक पर्ने भएकाले सर्प पाल्नैपर्ने बाध्यता उद्योगसामु थियो । यसका लागि वन मन्त्रालय अन्तर्गतको राष्ट्रिय निकुञ्ज विभागको अनुमति प्राप्त गर्नुपर्ने हुँदा अनेक उल्झन सुल्झाउन समय लागेको हुन सक्छ । ‘एन्टी स्नेक भेनम’ उत्पादन गर्न सर्प मात्र पालेर नहुने विज्ञहरूको भनाइ छ । यसका लागि घोडा, खरायो र मुसा पनि सँगै पाल्नु पर्छ । विज्ञहरूका अनुसार, सर्पबाट निकालिएको विष सुईमार्फत घोडामा प्रवाह गरेपछि उक्त घोडामा प्रतिरक्षात्मक (एन्टिबडी) पदार्थ बन्छ । पुनः सुईमार्फत घोडाको रगत तानेर प्लाज्मा निकालिन्छ र औषधी तयार गर्न उपयोग गरिन्छ । औषधीलाई मानिसमा प्रयोग गर्नुअघि मुसा वा खरायोमा परीक्षण गरिने गरिएको छ । मानव स्वास्थ्यसँग जोडिएका यस किसिमका उद्योगहरू स्थापना गर्न सरकारले प्रोत्साहन र सहयोग गर्न कत्ति पनि ढिलाइ गर्नु हुँदैन । निजी क्षेत्रको उद्योगलाई सहयोग र सहकार्य गरिएको छ भने प्रारम्भदेखि नै अनुगमन एवं नीति निर्देशन गरिनु अपरिहार्य देखिन्छ ।