• ११ असोज २०८१, शुक्रबार

काठमाडौं उपत्यकामा जितिया महोत्सवको तयारी

blog

थारू महिलाको प्रमु्ख पर्व जितियाको अवसरमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइँदै ।

गोरखापत्र अनलाइन

काठमाडौं, असोज ६ गते । थारू महिलाको प्रमु्ख पर्व जितियाको अवसरमा काठमाडौं उपत्यकामा बसोबास गर्ने महिलाले ‘जितिया महोत्सव २०८१’ आयोजना गर्ने तयारी गरेका छन् । महोत्सवको उद्घाटन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गर्नुहुने आयोजकको भनाइ छ ।

जितिया महोत्सवबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा असोज ९ गते एक दिन प्रदर्शनी मार्गस्थित पर्यटन बोर्डको सभाकक्षमा जितिया महोत्सव आयोजना हुने जानकारी दिइएको छ । थारू महिला सभा उपत्यका समितिको आयोजनामा हुन लागेको सो महोत्सवमा थारू महिलाले निराहार व्रत बसी थारू परम्पराअनुसार पर्व मनाउने तयारी गरिएको आयोजक महिलाहरुको भनाइ छ । 

थारू महिला सभा उपत्यका समितिका अध्यक्ष ललिता चौधरीका अनुसार जितिया पर्व तीन दिन मनाइने गरिए पनि मुख्य दिन ९ गते महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवका अवसरमा सूर्य भगवानका पुत्र जितमहानको उपासना गरी पारिवारिक सुख, शान्ति र समृद्धिका लागि पर्व मनाइने गरिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । 

सो पर्वमा विवाहित चेलीबेटीलाई माइतमा बोलाएर पाहुना सत्कार गर्ने र ससुराली पठाउनेबेलामा गक्षअनुसार कोशेली दिएर पठाउने परम्परा भएको अध्यक्ष चौधरीले बताउनुभयो । कोशेलीमा तेलपौर रोटी, अन्य खानाका परिकार, नयाँ साडी तथा केही रुपियाँ दक्षिणाका रुपमा दिने प्रचलन रहेको उहाँको भनाइ छ । 

जितिया पर्व जित र समृद्धिको प्रतीक भएकाले सूर्य भगवान तथा उहाँका सुपुत्र जितमहानको प्रार्थना गरी परिवारका सदस्यको सुख, समृद्धिका लागि प्रार्थना गर्ने प्रचलन रहेको अध्यक्ष चौधरीले बताउनुभयो । जितिया पर्वको अवसरमा नेपाल सरकारले पर्व मनाउने समुदायका महिलालाई सार्वजनिक विदा दिँदैआएको छ । 

पत्रकार सम्मेलनमा अध्यक्ष चौधरी, फूलकुमारी चौधरी, विना चौधरी, लिलम चौधरी, अनिता चौधरी लगायतले जितिया पर्वको बारेमा जानकारी गराएका थिए । जितिया पर्व पूर्वको झापादेखि पश्चिम नवलपरासीसम्मका थारू महिलाले भव्यरुपमा मनाउने गर्छन् ।