• ८ माघ २०८१, मङ्गलबार

पहाडी जिल्लामा बजेट कम गएपछि प्रदेश सभामा उठ्यो छुट्टै प्रदेशको माग

blog

प्रदेश सभा सदस्य अक्कलबहादुर रावल। तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, असोज ५ गते।  सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटमा प्रदेशको पहाडी जिल्लालाई कम प्राथमिकता दिएपछि कैलाली, कञ्चनपुरलाई अलग्याएर पहाडी सात जिल्लाको छुट्टै प्रदेश बनाउनुपर्ने कुरा प्रदेश सदनमा उठेको छ।  

बजेटमाथिको छलफलमा सहभागी नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक अक्कलबहादुर रावलले सरकारले कैलाली, कञ्चनपुरमा मात्रै बजेट खन्याएको उल्लेख गर्दै पहाडी जिल्लाको विकासका लागि सात जिल्लाको छुट्टै प्रदेश बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।

“अब हामीले बोल्नै पर्ने हुन्छ।  कैलाली, कञ्चनपुरको विकासको लागि सरकारै एक हुने।  मन्त्री भइसकेपछि आफ्नो क्षेत्रबाहेक अरूलाई नहेर्ने ?” रावलले अगाडि थप्नुभयो,“के पहाडका जनतालाई विकास चाहिँदैन, बजेट चाहिँदैन ?”

बजेट सन्तुलन नभएको उल्लेख गर्दै उहाँले कैलाली र कञ्चनपुरको छुट्टै र पहाडको छुट्टै प्रदेश बनाउन आग्रह गर्नुभयो।  कैलाली, कञ्चनपुरको छुट्टै प्रदेश हुनु पर्ने थारुको पनि माग रहेको भन्दै रावलले भन्नुभयो,“पहाडको अब छुट्टै प्रदेश चाहिन्छ।”

बजेट असन्तुलनका कारण सङ्घीयता नै खतरामा रहेको उल्लेख गर्दै उहाँले बजेट पूर्णतया गलत रहेको जिकिर गर्नुभयो।